अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको छ । नेप्से सूचकसँगै कारोबार रकममा पनि तेजी आउन थालेको हो । आज प्रि-ओपन समयमा सबै ब्रोकरमा ताला लागेर शून्य कारोबार भएको शेयर बजारमा अहिले ताजा अवस्थामा ५३.६० अंकले उकालो लागेको हो ।
अर्थ मन्त्रालयमा भएको वार्तामा अर्थमन्त्री डा प्रकाश शरण महतले पुँजी बजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर व्यक्तिका लागि अन्तिम कर हुने स्पष्ट पारेपछि ब्रोकरका ताला खुलेका थिए । यसबारे अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । त्यससँगै भएको नेप्से कारोबार उत्साहजनक रूपमा बढेको हो ।
यसअघि आन्तरिक राजश्व विभागले पुँजीगत लाभकरका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सकेको थिएन। कहिले पटके त कहिले प्राकृतिक व्यक्ति भनेर पुँजीगत लाभकरका विषयमा स्पष्ट पार्न सूचना जारी गरेको थियो । साथै लगानीकर्ताहरूले आर्थिक विधेयक २०८० को २९ नं. बुँदा खारेज हुनुपर्ने माग गर्दै आएका थिए ।
सहमति भएको छलफलमा अर्थमन्त्री, अर्थ सचिव, आन्तरिक राजश्व विभागका महानिर्देशक, सेबोनका अध्यक्ष, नेप्सेका सीईओ, ब्रोकर एसोसिएसनका पदाधिकारी र आन्दोलनरत लगानीकर्ताहरू सहभागी थिए ।