तपाईलाई प्रचण्डको भैसी छविका बारेमा पक्कै थाहा छ । थाहा छैन भने यसबारेमा थाहा पाउँदा मात्र अहिले भारतबाट ल्याउने भनिएका मुर्रा राँगाको सम्भावनाको बिषय कसरी छोपिएको छ भन्ने थाहा पाउनु हुन्छ ।
भएको के थियो भने मिति २०६६ माघ २९ गते प्रचण्ड सुनसरीमा पुगे । त्यहाँ उनले भेट गरेका थिए, सोलुखुम्बुको जुबु घर भई सुनसरीको चतारामा बस्दै आएका कृष्णदास महाराज अर्थात सिद्धबाबा भनिने कृष्णबहादुर गिरीसँग । गिरी त्यति बेला चताराका मात्र नभएर नेपालका नै चलेका गुरु थिए । तिनै कृष्णदास महाराज अर्थात सिद्धबाबा भनिने कृष्णबहादुर गिरीका कुरामा लागेर प्रचण्डले भैसी पुजा गरेका थिए । अहिले ति सिद्धबाबामाथि दोहोरो नागरिकता, जडीबुटीको अवैध कारोबार र बलात्कारको आरोप लागेको छ भने प्रचण्ड माथि भैसीको पुजा गरेकोमा कहिलै नसकिने व्यंग्य र आलोचना ।
उनै प्रचण्ड प्रधानमन्त्रीकारुपमा भारतको भ्रमणमा गए । त्यहि अवसरमा नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गर्यो । वक्तव्यमा राँगो नभनेर भैसी भने पछि भैसी नै बुझिने भइहाल्यो । अनि त के चाहिन्थ्यो, प्रचण्ड नेपाल आइसकेका थिएनन् तर उनी माथिको ट्रोल सामाजिक सञ्जालभर छ्याप्छ्याप्ति भइसकेको थियो ।
वास्तवमा यस्तो हुनुमा सबै भन्दा बढि भुमिका प्रचण्डको त्यो विगतको पुजाको नै थियो, जति बेला उनले भैसी पुजा गरेका थिए । प्रचण्डलाई भैसी पुजा गर्न भारतले १५ थान भैसी दियो भन्ने किसिमका ट्रोलहरुले सामाजिक सञ्जाल ढाके ।
भैसी होइन राँगो, त्यो पनि बर्षौँदेखि मागेको ।
वास्तवमा प्रचण्डलाई उनको छवि देखेर भारतले भैसी दिएको थिएन । भारतले दिने भनेको भैसी पनि थिएन, राँगा थिए । ति राँगाहरु शतप्रतिशत मुर्रा जातका राँगाहरु थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको माग अनुसार भारत मुर्रा प्रजातिको १५ वटा राँगो दिन तयार भएको हो । नेपालले ५ बर्ष अगाडिदेखि ति मुर्रा जातका राँगाहरु बिउकारुपमा नेपाल ल्याउने प्रयास गरिरहेको थियो ।
के छ मुर्रा जातका राँगामा विशेषता ?
भारतीय सेन्ट्रल इन्ष्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नतमध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ । यो जातको भैंसीको औसत ३०० दिनको एक बेत हुन्छ र एक बेतमा ५ हजार लिटरसम्म दूध दिन्छ । यो जातका भैंसीले थोरैमा पनि दैनिक ८ लिटर दूध दिन्छ ।
यस्तो भैंसीको जातका कारण भारतले दुग्ध उत्पादनमा तीन गुणा वृद्धि गरेसँगै संसारभर भारतबाट मुर्रा जातको नश्लका लागि माग बढेको छ । अहिले नेपाल, चीन, ब्राजिल कोलम्बिया लगायतका देशका हावापानीमा यो जातको राँगाबाट उन्नत नश्ल सुधार मार्फत दूध उत्पादन बढ्ने देखिएपछि भारतसँग यो नश्लको राँगो र वीर्य माग गर्ने देशको संख्या बढ्दो छ । नेपालको भन्दा तीन गुणा बढी दूध उत्पादन गर्ने भैंसीको प्रजाति छिमेकी देशमा विकास भएको थाहा पाएपछि नेपालले भारतसँग उक्त जातको नश्ल बिउका लागि सन् २०१७ देखि नै कुरा अघि बढाएको थियो । यतिसम्म कि यसअघि केपी शर्मा ओली र शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैसियतमा गरेको भारत भ्रमणका क्रममा पनि मुर्रा राँगो माग गर्ने प्रस्ताव नेपालको थियो । तर त्यतिबेला भारतले दिन नमानेको सम्बन्धित अधिकारीहरु बताउँछन् ।
यसैले नेपालमा उन्नत भनिएका भैसीबाट अहिले प्रतिबेत १४ सय लिटर मात्रै दुध उत्पादन हुने अवस्था परिवर्तन भएर अब ५००० लिटरसम्म पुग्नेछ । यी १५ राँगाहरुबाट गर्भाधान बनाएर १ लाखसम्म मुर्रा जातका भैसीहरु जन्मिन सक्छन् । यसैले प्रचण्डको भारत भ्रमणको समयमा संयोगले नै भए पनि नेपाली कृषकका पक्षमा एकदमै ठुलो परिवर्तनको सम्भावना देखिएको छ ।
तर यति राम्रो कुरा पनि प्रचण्डको छविका कारण ट्रोलको शिकार बन्न पर्यो भने सित्तैमा पाएका राँगाहरु पनि प्रचण्डका लागि महंगा साबित भए ।
भिडियोमा पनि हेर्नुहोस् –