काठमाडौंको तापक्रम ३३ र तराईमा ४१ डिग्री सेल्सियससम्म पुग्ने-Sutra News

काठमाडौंको तापक्रम ३३ र तराईमा ४१ डिग्री सेल्सियससम्म पुग्ने

सोमबार, २२ जेष्ठ २०८०

सोमबार, २२ जेष्ठ २०८०

काठमाडौं- तराईका केही भू–भागमा आज पनि तातो हावा (लू) चल्ने भएको छ । विगत केही दिनको जस्तै आज पनि देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने भएको छ ।



केही दिनयता काठमाडौंसहित देशका विभिन्न भागमा गर्मी बढेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद् गोविन्द झा बताउँछन् । पश्चिमी वायु कमजोर रहेका कारण तापक्रम बढेको र बदली समेत हुन नसक्दा गर्मी बढेको उनको भनाइ छ ।

‘काठमाडौंमा आज ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । र, यो क्रम अझै केही दिन रहनेछ,’ मौसमविद् झाले भने ।

जनकपुर, भैरहवा, सिमरा, नेपालगन्जलगायत क्षेत्रमा पनि आज तापक्रम उच्च रहनेछ । मौसमविद् झाका अनुसार यी क्षेत्रमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । तापक्रम कतिपत्रय ठाउँमा बढ्नेक्रममा रहेको र कतिपय ठाउँमा स्थिर रहेको उनले जानकारी दिए ।

‘अझै केही दिन अहिले उच्च तापक्रम रहेको ठाउँमा यस्तै गर्मी रहनेछ । पश्चिमी वायु कमजोर रहेको र त्यो पनि पश्चिमी भू–भागमा मात्रै रहेकाले अझै केही दिन यस्तै गर्मी हुनेछ,’ उनले भने, ‘तत्काल पश्चिमी वायु पूर्वतर्फ सर्ने नदेखिएको र थप शक्तिशाली पनि नहुने देखिएकाले गर्मी यथावत नै रहनेछ ।’ उनका अनुसार अझै कम्तीमा तीन दिनसम्म तापक्रम घट्ने सम्भावना न्यून छ । त्यसैले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । तर, पश्चिमी वायुको कमजोर रहेको छ । जसका कारण गर्मी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट