नेपालमा करिब ३० लाखमा कुनै न कुनै प्रकारको बाथ रोगको समस्या रहेको बताइएको छ । नेश्नल बाथरोग सेन्टरको १०औं वार्षिक उत्सवका अवसरमा बाथरोगसँग सम्बन्धित कुनै न कुनै समस्यामा रहेकाहरूको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले खानपान र शारीरिक व्यायाममा ध्यान नदिएमा बाथरोगमात्र होइन धेरै रोगले सताउने बताए । उनले दैनिक एक घण्टा व्यायाम गरेमा समस्याबाट बच्न सकिने बताए । साथै अहिले ६४ वर्ष पार गरिसक्दासमेत यही व्यायामकै कारण आफूले कुनै दीर्घरोगको औषधि खानु नपरेको उल्लेख गरे ।
कार्यक्रममा सेन्टरका वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्यका अनुसार पछिल्लो एक दशकमा सेन्टरले कुल ग्रसित बाथ रोगीमध्ये ६ प्रतिशतलाई सेवा दिन सफल भएको छ । धेरैको बाथरोग निको हुने भन्दै डा. वैद्यले ८० प्रतिशत मान्छेको बाथरोग निको हुनसक्ने बताए ।
सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बाथ रोगका बिरामी बढ्दै गइरहेको भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए । उनले सेन्टरले नेपालमै पहिलो पटक बाथरोग उपचारमा विश्वसनीय प्रविधि भित्र्याएको बताए ।
बाथरोगको प्रचारमा लागि संस्थाले विभिन्न जिल्लामा तालिम सञ्चालन गरिरहेको छ । वार्षिक उत्सवको अवसरमा सेन्टरले आफ्नो उत्कृष्ट कर्मचारीहरूलाई सम्मान पनि गरेको थियो ।