प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा भारत भ्रमणका क्रममा भएका सम्झौता र नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धमा सांसदहरूको जिज्ञासामा नेपाल र भारत दुवैपक्ष सँगै बसेर नक्सा राखेर छलफल गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।
“भारत भ्रमणका क्रममा कैयौं विषयमा छलफल भएको छ, राष्ट्रिय हित र स्वाधिनताको विषयमा हामी चिन्तित छौँ”, प्रधानमन्त्री दाहालले भने, “नक्साको विषयमा पनि कुरा भएको छ, म धर्मनिरपेक्षतावादी हुँ, जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्नुहुँदैन, मेरो प्राथमिकता चाहीँ फोहर व्यवस्थापन थियो ।”
बैठकमा सांसद सूर्यबहादुर थापाले अघिल्लो सदनले पठाएको विधेयक वर्तमान सदनलाई जानकारी नदिइकन प्रमाणीकरण गर्नु कानुनी प्रक्रिया गलत भएको भन्दै संसद्को ध्यानाकर्षण गराएका थिए ।
सांसदहरू विश्वप्रकाश शर्मा र रघुजी पन्तले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष वर्तमान राष्ट्रियसभा र प्रतिनिधिसभा अध्यक्षले प्रमाणित गरेर पठाउनुपर्ने सुझाव दिए ।