यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार ७०० किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदर पत्र प्रदान गरे । उक्त सफाइ टोलीमा संलग्न फूर्वा शेर्पा र आङ कामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।
प्रधानसेनापति शर्माले सो अवसरमा उनीहरूका प्रतिनिधिलाई कदर पत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले बेहोर्ने घोषणा गरे । वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनको आत्माको चिर शान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गरे ।
कार्यक्रममा प्रधानसेनापति शर्माले विकट र प्रतिकूल अवस्थामा पनि फोहर सङ्कलन र आरोहणको साहसिक कार्य पूरा गरेको भनी अभियानमा संलग्न सबैमा धन्यवाद ज्ञापन गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मानिसको जीवन पद्धतिसँग जोडिएको तथा प्रकृतिको दीगोपन र पर्यावरण जोगाउनुपर्छ भन्ने उद्देश्य रहेको अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय प्रमुख सुन्दरकुमार पाण्डेले हिमालको स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन भएको अभियानमा सरकारी तथा गैरसरकारी संस्थाबाट महत्त्वपूर्ण साथ सहयोग प्राप्त भएको बताए ।
हिमाल सफाइ कार्य जटिल र साहसिक भएको जनाउँदै उनले हिमाललाई वातानुकूलित तुल्याउने पहिलो सर्त रहेको बताए ।
अभियान सञ्चालनका क्रममा स्थानीय शेर्पाले केही समय भए पनि रोजगारी प्राप्त गरेको तथा अरू आरोहीलाई पनि उत्प्रेरणा प्राप्त भएको सो अवसरमा जानकारी दिइयो ।
नेपाल वातावरण पत्रकार सङ्घका अध्यक्ष रोशनी अधिकारीले वातावरण संरक्षण र हिमालको सुन्दरता कायम राख्ने सिलसिलामा सञ्चालन भएको अभियान फोहर सङ्कलन र पर्यावरण संरक्षणका लागि प्रचारप्रसारका हिसाबले महत्त्वपूर्ण साबित हुने धारणा व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्