नेपाली समाज पितृसत्तामक छ जहाँ छोरालाई मात्र वंश र अंशको हकदार मानिन्छ।
समाजमा यो बुझाइ केही कम हुँदै गएको भएपनि छोरीका मात्र मातापितालाई समाजले छोरीमात्रले हुँदैन छोरा पनि चाहिन्छ भनेर बेलाबेलामा सुनाउने गर्छन्।
यस्ता अभिव्यक्तिले छोरीमात्र भए पनि हुन्छ भन्ने आमाबाबुलाई चोट दिने गरेको छ। उनीहरु सकेसम्म यस्ता टिपण्णीमा छोरी पनि छोरा जस्तै हो भनेर जवाफ फर्काउँछन्। उनीहरुलाई सन्तानका रुपमा छोरा हुनुपर्छ भन्ने अनिवार्यता छैन।
यस्तैमा छोरा खोई भनेर प्रश्न गर्नेहरुलाई नेपाली काँग्रेसबाट बागमती प्रदेशसभामा निर्वाचित प्रदेश सदस्य मदुकुमार श्रेष्ठले दुःख र आवश्यक्तामा नपाइने छोराको कुनै अर्थ नभएको भन्दै प्रश्न गरेका छन्।
उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन्। उनले स्टाटसमा आफ्नी एक छोरी रहेको र आफूलाई पनि छोरा जन्माउन पर्यो भन्दै आफन्त साथीभाइले भन्ने गरेको स्मरण गर्दै थुप्रै छोराहरु आफ्ना बाबुआमा दुःखमा पर्दा र उनीहरुलाई आवश्यक पर्दा नआएको घटनाको साक्षी भएकाले त्यस्ता छोराको कुनै अर्थ नभएको बताउँदै आफ्नो छोरीमात्र भएकोमा आफूलाई गर्व लागेको बताएका छन्।
यस्तो छ उनको स्टाटस्-
मेरो एउटी सानी छोरी छ । साथी आफन्तहरु मलाई भन्ने गर्छन् अब एउटा छोरा जन्माउन पऱ्यो । म हाँसेर टाउको मात्र हल्लाउँछु । तर त्यससमय मेरो मन मष्तिस्कमा अहिले घटिरहेका घटनाहरु यादगार बनेर आउछन । धेरै आमा , बाबुहरु बिरामी भएर महिनौं अस्पताल हुँदा छोराहरु अस्ट्रेलिया , जापान अमेरिकामा रमाई रहेका कुरा दिमागमा आउँछन् । त्यतिमात्र होइन जब आमा वा बुबाको मृत्यु हुन्छ अनि यताबाट कल जान्छ र अझै नम्र बोलीमा हामी भन्छौ बाबु तिमी नअत्तालिकन आऊ । छोरा भएसी दागबत्ती दिनुपर्छ । छोरा ठूलो होला आफूहरुलाई बुडेसकालमा पाल्ला भनेको छोरो बाबा आमा महिनौं बिरामी भएर थला पर्दा त आएनन् -आएनन् । मरिसकेपछि पनि २ , ४ दिन आईस भएर कुर्नुपर्छ । अनि मेरो मन मुटुले भन्छ आफू जिबित भएर दु:ख पाउदा आफूसंग नहुने छोरा किन ? मरिसकेपछि २ , ४ दिन कुर्नुपर्ने छोरा किन ? दु:ख पर्दा र आवश्यकतामा साथ नपाइने छोराको अर्थ के????
मदु कुमार श्रेष्ठ
मेरो लागि छोरा , छोरी समान हुन ।
मेरो लेखाइले विदेशमा हुनुहुने दाजु भाइहरुको मन दुःखे माफी चाहन्छु।।
मेरो छोरा प्रति घृणा होईन प्रवृत्तिप्रति हो
मदुकुमार श्रेष्ठ धादिङ निर्वाचन क्षेत्र नम्बर १(१)का प्रदेश सासंद हुन्