एक महिला पत्रकारले प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतबाट असुरक्षित भएको भन्दै उजुरी दर्ता गराएकी छन् ।
प्रहरीको साइबर ब्युरोमा दर्ता गराएकी उजुरीअनुसार काउन्सिलका अध्यक्ष बस्नेतले मध्यरातमा कल/म्यासेज गरी टर्चर दिएको आरोप छ । प्रहरीका अनुसार शुक्रबार उजुरी दर्ता भएको हो ।
उजुरीमा भनिएको छ, ‘बालकृष्ण बस्नेत नामक फेसबुक आइडीले जेठ १५ गते मध्यराति मेसेन्जरमार्फत भेट गर्ने प्रस्ताव राख्ने, अडिओ कल गर्ने, साथै पटक पटक एसएमएस गरी रातको समयमा टर्चरसमेत गर्ने गरेकाले सो व्यक्तिलाई कारबाही गरी पाउँ।’
उक्त उजुरीपछि पीडित महिलाका परिवार र कार्यरत मिडिया हाउसका प्रमुखलाई फोन गरी उजुरी फिर्ता लिन दबाव दिएपछि उनले पुनः आफू असुरक्षित भएको भन्दै उनले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा सुरक्षाको प्रत्याभूतिको माग गर्दै आइतबार निवेदन दिएकी छन् ।
पीडित महिला एक अनलाइनमा कार्यरत छिन् । मन्त्रालयमा दिएको निवेदनमा बस्नेतका क्रियाकलापबाट आफू असुरक्षित भएको उल्लेख गरिएको छ ।