राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले अनधिकृत व्यक्तिबाट करका दर हेरफेर भएको समाचार आएको भन्दै संसदीय समिति गठन गरी छानविन गर्न माग गरेका छन् ।
सोमवार प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले अर्थमन्त्रीले भन्सार विभागका पूर्वनायब सुब्बा (नासु)रामकृष्ण श्रेष्ठलाई बजेट बनाउने गोप्य कोठामा लगि करका दर हेरफेर गरेको भन्ने समाचार आएको भन्दै छानविन गर्न माग गरेका हुन् ।
यसबारे अर्थममन्त्री डा. प्रकाशशरण महतले इमानदारपूर्वक काम गर्दा हिलो छ्याप्ने काम भएको बताएका छन् ।
करको दरमा अनधिकृत व्यक्ति प्रवेश गरेको समाचार र संसदमा उठेको प्रसँग जोड्दै अर्थमन्त्री महतले आफूले इमानदारपूर्वक बजेटको प्याकेजिङ गरेको बताए ।
उनले करको दरहरुमा विगतदेखि टाइप गर्दै आएका व्यक्तिले नै टाइप गरेको भन्दै करको दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको प्रवेश नरहेको दाबी गरेका छन् ।
‘बजेट बनाउँदा अर्थमन्त्री, राजश्व र अर्थको दुई वटा सचिव, राजश्व, आन्तरिक राजश्व विभाग र भन्सार विभाग प्रमुख र त्यसलाई हेर्ने दुई वटा उपसचिव हुन्छ, त्यो मात्रै हुन्छ,’ उनले भने, ‘विगतदेखि नै जसले टाइप गर्ने गरेको हो, उसैले बजेट टाइप गरेको हो । सधैं टाइप गर्ने मान्छे मन्त्रालयले ‘हायर’ नै गरिएको हुन्छ, जो आधिकारिक मान्छे हुन्छ ।’
बजेट र राजश्वको दर चलाउने टिमले हस्ताक्षर गरेर टुंग्याएको विषय नै टाइप गर्नेले इन्ट्रि गर्ने उनको दाबी छ ।