सानै भूमिकामा ‘नाईं नभन्नू ल-२’बाट डेब्यू गर्दा अभिनेत्री वर्षा शिवाकोटीले चर्चा ठूलो रुपमा नै बटुलेकी थिइन्।
सुन्दरीसँगै राम्रो नृत्य गर्नसँक्ने अभिनेत्रीका रुपमा उनलाई राखिएको थियो।
त्यसपछि उनले केही राम्रा ब्यानरका सिनेमाहरु पाइन, जसमा ‘पशुपति प्रसाद’ समेत पर्छ।
उनले अभिनयका लागि तारिफ बटुलिन पनि तर उनको करियरको ग्राफ भने खासै चम्किन सकेन। केही समय म्यूजिक भिडियोमा व्यस्त रहने गरेको भएपनि हाल उनको फिल्मी तथा भिडियो करियर दुबै डामाडोल छ।
उनले आफूलाई ‘वीर विक्रम २’बाट फर्काउने प्रयास नगरेकी पनि होइनन् तर भाग्यले साथ दिएन। उनले अन्य सिनेमा पनि गरेका छिन् तर कामका हिसाबले ‘पशुपति प्रसाद २’ बाहेक सम्झनलायक कुनै सिनेमा छैन।
हाल पोस्ट प्रोडक्सन चलिरहेको ‘पशुपति प्रसाद २’मा समेत उनी अटाएकी छैनन्। सिनेमामा स्वस्तिमा खड्का र आँचल शर्मा भित्रिएका छन्।
यो वर्ष उनी अभिनित ‘ए साथी सुन’ रिलिज भयो। तर यो सिनेमा कहिले आयो गयो दर्शकहरुले पत्तै पाएनन्।
वक्सअफिसमा यसले गरेको कमाइ दयनिय छ। सिनेमाले केवल ४२ हजार १ सय १५ रुपैयाँ कमाएको छ।
धेरैले वर्षको करियर धर्माराउनुमा ‘पशुपति प्रसाद’ पछि त्यसबाट प्राप्त सफलतालाई सम्हाल्न नसक्नु हो भनेर मान्छ। उनले त्यसपछि छनौट गरेका सिनेमाहरु हेर्दा सो भनाइमा बल पुग्छ।
‘नाईं नभन्नू ल-२’ पछि सो सिनेमाका निर्देशक विकास आचार्यसँग सम्बन्ध बिग्रेका कारण तेश्रो सिक्वलबाट हात धुनुपरेको बताइन्छ।
पछि तेश्रो संस्करणको सिनेमामा विकासले प्रियंका कार्की आस्मा दाहाललाई अभिनय गराए। त्यसपछि चौथोमा उनले वर्षा राउत र आँचल शर्मालाई ब्रेक दिए। वर्षाले धेरै भाउ खोजेकाले सिनेमामा नलिएको बताइन्छ।
गत वर्ष वर्षाले विवाह पनि गरिन तर त्यो ९ महिना नपुग्दै टुङ्गियो।
हाल वर्षा के गर्दैछिन्, केही खबर सार्वजनिक भएको छैन्। हाल २-३ बिराएर फेसबुक लगायतका सामाजिक संजालमा फोटो भिडियो पोस्ट गरेको देखिन्छ। त्यसबाहेक उनी गुमनामजस्तै छिन्। बेलाबेला विवाह अगडि उनको नाम अभिनेता राज कटुवालसँग जोडिएको थियो भलै त्यसलाई उनले आफूहरु राम्रा साथीहरु भएको भन्दै अस्वीकार गरेकी थिइन्।