स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ‘मह काट्दा हात चाट्न पाइने’ स्थानमा आफूनिकटका कर्मचारीको सुरुवा गरेको भन्दै कर्मचारीहरूले गुनासो गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भाउजू डा. आरजु राणालाई खुशी तुल्याएर स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका बस्नेतले आरजुको निर्देशनमा स्वास्थ्यको अरबौं मूल्यका सामान, उपकरण र औषधि खरिद हुने निकायमा पदको दुरुपयोग गर्दै सुरुवा गरेका स्वास्थ्यकै कर्मचारीहरू बताउँछन् ।
‘मालदार अखडा’मा आफू अनुकूलका कर्मचारी सरुवा गरी माथिदेखि तलसम्म सेटिङ मिलाउन थालेको कर्मचारीहरूको गुनासो छ । मन्त्री बस्नेतले प्रशासनिक सुधार र हेरफेरका नाममा अवधि नै नपुगेका कर्मचारीहरूको सरुवा गरेको जानकार स्रोत बताउँछ । मन्त्री भएको एक महिना नपुग्दै उनले मन्त्रालयको प्रणाली नै बिग्रिने गरी कर्मचारी चलाउन थालेको बताइएको छ ।
यसअघि स्वास्थ्य राज्यमन्त्री हुँदा राम्रो स्वाद चाखिसकेका बस्नेतले सर्वप्रथम चिकित्सा शास्त्र अध्ययन संस्थान वीर अस्पतालको निमित्त उपकुलपतिमा डा. भुपेन्द्रबहादुर बस्नेतलाई नियुक्ति गरेका छन् । त्यस्तै, उनले गत साता वीर अस्पतालको भ्रमण गरी अस्पतालको क्षमता सुधार, बेड थप गर्न निर्देशन दिएका थिए । ठुला सरकारी अस्पतालहरूमा थन्किएर रहेका यान्त्रिक उपकरणहरू काठमाडौं उपत्यका बाहिरका अस्पतालहरूमा पठाउन उर्दी पनि जारी गरेका छन् ।
जबकि वीर अस्पताल जस्तो देशभरिबाट सस्तो र स्तरीय उपचारका लागि सबैभन्दा बिरामी आउने अस्पतालमा एक्सरे, भिडियो एक्सरे, एमआरआई, ल्याब उपकरण पर्याप्त मौजुदा राख्नु पर्दछ । यो कुरा नबुझेका मन्त्री बस्नेतले स्टोरमा रहेका सामग्री जति बाहिर पठाउने निर्देशन दिएर राजधानीका सुविधा सम्पन्न अस्पतालहरूलाई गाउँ र जिल्लाका अस्पताल जस्तै सुविधाहीन बनाउन खोजेको आरोप अस्पतालका कर्मचारीले लगाएका छन् ।
यसै गरी, मन्त्री बस्नेतले गत साता स्वास्थ्य मन्त्रालय अन्तर्गतको महत्त्वपूर्ण निकाय औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालामा सरुवा गरेका छन् । उनको स्थानमा नारायणप्रसाद ढकाललाई नियुक्त गरेका छन् । मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य मन्त्रालय अन्तर्गतका नौं उच्च अधिकारीहरूको सरुवा अर्थात् जिम्मेवारी हेरफेर गरिएको छ ।
समाचारअनुसार राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । त्यहाँ भने डा. बद्री रिजाललाई सरुवा गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र गौतमलाई मन्त्रालयमा सरुवा गरिएको छ । केन्द्रमा भने डा. अनुज भट्टचनलाई लगिएको समाचार स्रोतले जानकारी दिएको छ ।
यस्तै, परोपकार प्रसूति तथा स्त्री रोग थापाथली अस्पतालका निर्देशक डा. पवनजङ्ग रायमाझीलाई मन्त्रालयमा सरुवा गरिएको छ । उक्त अस्पतालमा भने डा. श्री अधिकारीलाई सरुवा गरेर लगिएको छ ।