काठमाडौं- तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मी बढ्ने क्रममा रहेकाले उक्त भू–भागहरूमा तातो हावा (लू) चलिरहेको विभागको भनाइ छ ।
त्यसैले अत्याधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । गर्मी बढेपछि तराईका कतिपय जिल्लामा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । दिउँसोको समयमा सकेसम्म बाहिर ननिस्किन आग्रह गरेका छन् ।
यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोसी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।