धादिङको रुबी उपत्यका(पान्साङ)मा दयाहाङ राई(चेन्जोरोङ) आफ्नी श्रीमती शान्ति वाईवा तथा छोरी जिग्मे छ्योइकी (पिन्जावती)सँग गोठालो जीवन बिताइरहेका छन्। चेन्जोरिङकी श्रीमती स्याफ्रुवेशीमा छोरीलाई पढाउन चाहन्छिन्। उनको चाहाना निमाको जस्तै त्रिशुलीमा घर होस् भन्ने छ । त्यसैले उनी पतिलाई विदेश जान कर गर्छिन् र मन नभएपनि चेन्जोरोङ विदेश जान्छ।
यस्तैमा गाँउमा भुकम्प जान्छ। भूकम्प आएर अत्तालियर छोरी घरभित्र छिर्छिन र सो घर भत्किन्छ। पछि थाहा हुन्छ छोरीलाई सरकारले हेलिकप्टरमा हालेर उपचार गर्न काठमाडौं लगेको छ। त्यसपछि चेन्जोरोङकी श्रीमती छोरी जो नेपाली बोल्न जाँन्दिन, उनलाई खोज्न काठमाडौं जान्छिन्। त्यसपछि के हुन्छ, त्यो घटनाक्रम नै ‘नीरफूल’को कथा हो।
आजबाट सिनेमाघरमा लागेको यो सिनेमा लामो समय कलापत्रकारिता गरेका फूलमान वलको निर्देशकीय डेब्यू सिनेमा हो र यो सिनेमाको मूल समस्या नै उनै हुन्। सिनेमामा उनी कमाण्डमा छन भन्ने कतै महशुस हुँदैन। उनले लेखेको कथा राम्रै भएपनि सचिन घिमिरेसँगको सहलेखनमा तयार पारेको पटकथा सिनेमामा पूरै समस्या ग्रस्त छ।
कथाको मर्मलाई बाँध्न पटकथा पूरा असफल छ। सिनेमा हेरिरहँदा दर्शकले महशुस गर्नुपर्ने संवेदनालाई महशुस गर्न सक्दैनन् जसले गर्दा सिनेमा निरस बनेको छ। पटकथा सिनेमाको कथा देखाउने भन्दा पनि आमाको भूमिकामा रहेकी शान्ति वाइवालाई स्क्रिन प्रिजेन्स धेरै देखाउनमा रुमल्लिएको छ। सिनेमाका प्रायोजक देखाउन अल्मलिएको छ।
सिनेमा हेरिरहँदा सिनेम्याटिक न्यारेटिभ अनुभव हुँदैन। कलाकारको अभिनय निर्देशकको कमाण्डमा छैन। निर्देशक वलले कलाकारलाई उनीहरुको भरमा छोडिदिएजस्तो लाग्छ जसले गर्दा अभिनयमा दम भएका कलाकारहरुको अभिनय सिनेमा हेरुञ्जेल निरस छ।
हरेक सिनेमामा निर्देशक महशुस हुनुपर्छ, उसको शैली झल्कनुपर्छ तर यसमा निर्देशक कुनै शैली झल्कन्न संपादन नगरिएको अखबारी आलेख जस्तो छ, पूरै लर्याङबर्याङ। उनले सिनेमामा प्रस्तुत गरेका हरेक कुरा सरकार, प्रशासन,नेता, पुलिस, मिडिया सबै नकारात्मकरुपमा मात्र पेस भएका छन्। मानौ नेपाली समाजमा मावीयता नै छैन।
यसमा पनि सबैभन्दा खड्किने भनेको संचारमाध्यमको प्रस्तुति हो। हराएकी छोरीलाई खोज्न त्यो पनि कसैको सिफारिसमा पुगेका व्यक्तिलाई संचारमाध्यमको गेटमै रोकिनु अति नाटकीय लाग्छ। नेपाली संचारमाध्यम यो हदको असंवेदेनशील छ जस्तो लाग्दैन। सँधै सूचना र घटनाको खोजीमा रहनेका लागि नेपाली नबुझ्ने त्यसमाथि भूकम्पजस्तो महामारीमा रुबी भ्यालीबाट काठमाडौं उपचार गर्न ल्याएकी बालिकाको कथा संचारमाध्यमले खोज्ने कथा नै हो यो।
त्यस्तो विषयलाई संचारगृहका मानिसले भेट्नै नखोजेको वलले देखाएका छन्। समाचार बनाउला नबनाउला तर संचारमाध्यमले एकपटक विषय सुन्नचाँहि सुन्छ। यी सबै हेर्दा उनलाई सिनेमा लेख्न भन्दा पनि खिच्न हतार भएको भान सिनेमा हेर्दा पर्छ।
संवेदनाको कथाबाट संवेदना हराएपछि के हुन्छ?
जवाफ सरल छ बिना हराएको कस्तुरी झैं हुन्छ। सिनेमाले अथेन्टिसीटी दिनलाई तामाङ भाषामा र सास्कृतिक पक्षहरुलाई सिनेमामा समेटेको छ, जुन राम्रो हो तर सिनेमामा त सिनेमा हो।
भर्खरै हामीले ‘जारी’ हेरिसकेको सन्दर्भमा यो सिनेमा आकाश-जमिनको फरकमा छ। प्रस्तुति त्यतिकै फितलो छ। निर्देशक उपयूक्त सट लगाउन चुकेका छन्।
यसरी राम्रो कथा पेस गर्ने अवसर हुँदाहुँदै पनि निर्देशक वल निर्देशकका रुपमा त्यो अवसरबाट चुकेका छन्। निर्देशनमा उनले धेरै नै मेहेनत गर्नुपर्ने देखिएको छ।
सिनेमालाई अर्गानिक कथा भनेर प्रचारित गरिएपनि सिनेमा त्यसको अन्तरआत्मा बोक्न सफल छैन।
समग्रमा जसरी रुबी भ्याली भनिदिनाले त्यो भूगोलको वास्तविक नाम पान्साङ गुमनाम बनेको छ, त्यसैगरी रुबी भ्यालीबाट सपना होइन एउटा सिनेमा हराएको छ निर्देशकसहित।