नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।
नेपाल डेमोक्रयाटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन् ।
आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए । उनले भने, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।”
नेकपा एमालेभित्र उमेर हद हटाइएको भन्दै उनले थपे, “हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए । उनले भने, “रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन् ।”