प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गेरुवस्त्र, भैंसी, फस्ट लेडी र राज्यमन्त्रीको स्वागतबारे भइरहेका प्रचारबारे प्रधानमन्त्रीको सचिवालयले प्रष्टीकरण दिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले शुक्रबार यो विषयमा उठेका सवालहरूमाथि प्रष्टीकरण दिएका हुन् । ‘प्रधानमन्त्रीले देशको पक्षमा स्पष्ट अडान राख्दा आत्तिएका विपक्षी दल र केही विरोधी शक्तिले भ्रमणमा केही पनि भएन भनेर प्रचारबाजी गरिरहेका छन् । तिनीहरू भ्रमणमा भएका सहमति, सम्झौता र छलफलका विषयबस्तुमा बहस र छलफल गर्नतिर होइन, नितान्त प्राविधिक र व्यक्तिगत विषय उछालेर झुठ्ठा र अनर्गल प्रचारमा रमाइरहेका छन् ।’
भ्रमणमा स्वागत गर्न को आए, छोरीलाई किन फष्ट लेडी बनाइयो र नेपालका प्रधानमन्त्री बसेको होटलमा स्वागत गर्न भारतीय प्रतिनिधि आउँदा किन सँगै राखियो भन्नेदेखि नेपालले विगत ७ वर्षदेखि भारतसँग किन्न प्रस्ताव गरेका १५ वटा मुर्रा रागो भैसी भारतले किन यसैबेला उपहार दियो र भारतको मध्यप्रदेशस्थित चर्चित मन्दिर महाकालेश्वरमा प्रधानमन्त्री पुगेको भन्ने जस्ता प्राविधिक विषयलाई अनावश्यक ढंगले उछालिएको प्रधानमन्त्री सचिवालयको भनाइ छ ।