सर्लाहीको हरिपुरमा जल्दै गरेको चिताबाट प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमती इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो ।
५० वर्षीय श्रीमान् राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको आशंकामा शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिटपछि राजाराम फरार भएकाले पनि प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ । हाल राजारामको खोजी भइरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
गत सोमबार घरायसी झगडामा श्रीमान् राजारामले आफ्नै श्रीमती इन्द्रकलालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । शनिबार बिहान इन्द्रकलाको मृत्यु भएको हो ।
इन्द्रकलाको मृत्युपछि कसैलाई खबर नै नगरी स्थानीयहरूले लखन्देही खोलामा दाहसंस्कार गर्न थालेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय हरिपुरले जल्दै गरेको शव नियन्त्रणमा लिई अनुसन्धान गर्न थालेको हो ।