प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।
शनिबार दिउँसो नुवाकोटको लाँकुरी भन्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन् । प्रधानमन्त्रीले सरकार भ्रष्टाचारका विरुद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने बताए ।
यस पटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्त्वपूर्ण सहमति भएका छन् । इतिहासमा पहिलो पटक देशको शीर ठाडो पारेर फर्किएको छु’’ प्रधानमन्त्रीले भने, ‘‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो । यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो । यो देशका लागि दूरगामी महत्त्वको उपलब्धि हो।’’
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महत, नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सभाका सदस्यहरू राधिका तामाङ, रमेश महत लगायतले सम्बोधन गरेका थिए ।