भ्यागुताको भाले र पोथी ल्याउनेलाई पुरस्कार ! (भिडियोसहित)-Sutra News

भ्यागुताको भाले र पोथी ल्याउनेलाई पुरस्कार ! (भिडियोसहित)

शनिबार, २७ जेष्ठ २०८०

शनिबार, २७ जेष्ठ २०८०

यो गर्मीमा बिहे गर्न कसलाई मन लाग्ला ? आगोको नजिक लामो समय बसेर बाक्ला लुगा लगाएर बस्दा जो कोही पनि यो गर्मीमा बिहे गर्ने कल्पना समेत गर्न सक्दैन । तर भ्यागुताको बिहे गर्न भने मान्छेहरू तयार छन् । आज भोलि नेपालमा यस्तै अनौठो बिहेको कुरा हुन थालेको छ । त्यो पनि मान्छेको होइन, भ्यागुताको ।



नेपालमा गर्मी र खडेरी लागेसँगै नेपालका विभिन्न ठाउँमा भ्यागुताको बिहे हुने गरेको छ । यही प्रसङ्ग सम्झिँदै धरानका मेयर हर्क साम्पाङले पनि भ्यागुताको बिहे गराइदिन चाहेको आफ्नो फेसबुकमा लेखेका छन् । उनले फेसबुकमा भाले र पोथी दुइटा भ्यागुता ल्याइदिनेलाई पुरस्कार दिने लेखेका छन् । पुरस्कार के हुने बारेमा भने उनले खुलाएका छैनन् तर बिहे भानु चौकमा गरिदिने भनेका छन् । ९ महिनादेखि पानी नपरेको कारण भ्यागुताको बिहे गर्दा पानी पर्ने हो भन्ने उनको विश्वास देखिन्छ । उनले लेखेका छन् – मलाई भाले र पोथी दुइटा भ्यागुता ल्याइदिनेलाई पुरस्कार ! भानु चौकमा बिहे गराइदिन परो हदै भो ! ९ महिना भैसको पानी नपरेको !

त्यस्तै, सिन्धुलीको दूधौली नगरपालिका–४ डकाहमा पनि स्थानीयवासीले भ्यागुताको बिहे गराएका छन् । भ्यागुताको बिहे गरेमा भगवान् इन्द्रदेव प्रसन्न भई पानी पार्ने जनविश्वासले यहाँका स्थानीयले भ्यागुताको बिहे गराइदिएका हुन् । स्थानीयले बिहेमा जोडी भ्यागुतालाई खोजेर पातमा राखी सम्पूर्ण विधि पूरा गरेर विवाह गरेका छन् ।

उक्त बिहेमा करिब ३० जना जन्तीको उपस्थिति रहेको त्यहाँका स्थानीयले बताएका छन् । हिन्दु धर्म अनुसार जसरी मानिसको बिहे हुन्छ त्यसरी नै जोडी भ्याकुताको पुरोहितले वैदिकमन्त्र पाठ गरी रुद्री पूजा गरी धूमधामसँग विवाह गराएका थिए । यसका साथै, करिब ४ घण्टाको हवन पनि गरिएको स्थानीयले जनाएका छन् । त्यहाँका नगर प्रमुख दिनेश अधिकारीले भ्यागुतोको बिहे गरे पश्चात् थोरै पानी परेको तर चाहिँदो पानी भने अहिलेसम्म नपरेको बताएका छन् ।

अहिले खडेरीले गर्दा धेरै किसानहरू आफ्नो बालीनाली नष्ट हुने डरले डराइरहेका छन् । त्यसैले नेपालका विभिन्न भागमा यसरी पानी पर्ने आशले भ्यागुताको बिहे गराइने गरिन्छ । गत वर्ष पनि तेह्रथुम जिल्लाको जलजले गाविसका जनताले बाजागाजासहित पानी पर्ने जनविश्वासले एक जोडी भ्यागुताको धूमधामसँग बिहे गरिदिएका थिए । नेपालका विभिन्न ठाउँहरूमा पानी पर्ने आशाले विभिन्न विधिहरू अपनाइने गरिन्छ ।

अहिले तराईमा गर्मी एकदम बढिरहेको छ। ‘लु’ लाग्ने अवस्थामा पुगेका तराईका स्थानीयले भने सोमबार इन्द्रको पूजा गर्ने गर्छन् । तराइमा धेरै किसान भएको हुनाले अहिले पानी नपरेर आत्तिएका छन् । उनीहरू पानी पर्ने आशले पैसा उठाएर इन्द्रको पूजा गरिरहेका छन् ।

यस्तै ग्रामीण भेगमा भने स्थानीय महिलाहरू भेला भएर पानीको गीतहरू गाउँदै पूजा गर्ने गर्छन् । जसलाई माई पूजा पनि भनिन्छ । यस्तै नेपालमा पानी पार्न इन्द्र भगवानलाई खुसी बनाउने उद्देश्यले दोहोरी खेल्ने परम्परा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट