घाँडो बन्न सक्छ ग्रेटर नेपाल-Sutra News

घाँडो बन्न सक्छ ग्रेटर नेपाल

शनिबार, २७ जेष्ठ २०८०

शनिबार, २७ जेष्ठ २०८०

सन् १८१५ तिर नेपालको सिमाना पश्चिममा सतलज र पूर्वमा टिस्टा नदीसम्म थियो । तर अंग्रेज नेपाल युद्धलाई सम्झौतामा टुङ्ग्याउँदै गर्दा नेपालले आफ्नो धेरै जमिन गुमाउनु पर्‍यो ।



तथ्याङ्कहरू केलाउँदा नेपालले १ लाख ७६ हजार वर्ग किलोमिटर क्षेत्र गुमाएको अनुमान गरिन्छ । त्यो भनेको अहिले नेपालले ओगटेको १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर भन्दा झन्डै ३० हजार वर्ग किलोमिटर धेरै हो ।

सन् १८१५ मा सुगौली सन्धि हुँदाको बखत नेपालले गढवालमा शासन गरेको १२ वर्ष मात्रै भएको थियो । त्यस्तै कुमाउँमा शासन गरेको २४ र सिक्किममा ३३ वर्ष भएको थियो । यसरी हेर्दा नेपालले ती क्षेत्रहरूमा कम्तीमा १२ वर्ष देखि बढीमा ३३ वर्षसम्म शासन गरेको थियो । तर युद्धमा हारे पछि नेपालले सुगौली सन्धि गर्‍यो र भूभागहरू गुमायो । त्यही सुगौली सन्धि अघि रहेको नेपाललाई ग्रेटर नेपाल भन्ने गरिन्छ ।

इन्डियाले आफ्नो नयाँ बनेको संसद् भवनको भित्तामा अखण्ड भारत भन्दै नेपालसहित बङ्गलादेश र पाकिस्तानका समेत भूभाग समेटेर नक्सा बनाए पछि यसले दक्षिण एसियामा तरङ्ग ल्याएको छ । बङ्गलादेशले भारत सरकारको कदमप्रति असहमत हुँदै आधिकारिक लिखित नोट नै पठाएको छ भने पाकिस्तानमा त्यो नक्सा विरुद्ध आक्रोश देखिन्छ । तर नेपालले सरकारले त्यो नक्साका बारेमा आधिकारिक धारणा केही पनि सार्वजनिक गरेको छैन । नक्सा सार्वजनिक भए पछि भारत भ्रमण गएका प्रधानमन्त्री प्रचण्डले त्यो विषयमा कुनै आपत्ति प्रकट गर्न सकेनन् । तर सो नक्साका विरुद्धमा नेपाली नागरिकमा पनि तीव्र विरोध रहेको छ ।

सायद त्यही विरोधलाई सांकेतिक रूपमा प्रकट गर्न काठमाडौंका मेयर बालेन शाहले आफ्नो कार्यालयको भित्तोमा ग्रेटर नेपालको नक्सा राखेका छन् । उनले ग्रेटर नेपालको नक्सा राखे पछि सामाजिक सञ्जालमा बालेन शाहको कदमको निकै स्वागत गरिएको छ । त्यस्तै युवाहरूको समूहले काठमाण्डौँको माइतीघरमा बालेन शाहको कदमलाई स्वागत गर्दै दीप प्रज्वलन समेत गरेको छ ।

बालेन शाहको कदम कस्तो हो ?

बालेन शाहको कदम कस्तो हो ? भन्ने बारेमा धेरैको धारणा छ कि उनको कदम साहसिक, सही र गर्नै पर्ने किसिमको हो । यसैले उनको विरोधमा छुटफुट विरोध बाहेक वृहतरुपमा समर्थन नै देखिएको छ । उनी निकट एक जना बताउँछन्, ‘बालेन शाहले भारतसँग जोरी खोजेका होइनन् । भारतले आफ्नो इतिहास भनेर तस्बिर राख्दा बालेन शाहले पनि नेपालको इतिहास सम्झेका मात्रै हुन् । दुवै विषय सामान्य हुन् भन्न सकिन्छ । तर अखण्ड भारत कहिले थियो भनेर भारतले चैँ जवाफ दिनु पर्छ । नत्र भारतीय बालबालिका वा नागरिकहरूको सामान्य ज्ञान बिग्रिन्छ । उनीहरू भारत अखण्ड थियो । पछि टुक्रियो भन्ने भ्रमपूर्ण ज्ञान बोकेर बस्छन् ।’

बालेन निकटको भनाइमा सत्यता पनि छ । किनभने इतिहासको कुनै पनि समयमा भारतले जारी गरेको अखण्ड भारत जस्तो अवस्थामा सिंगो भारत कहिल्यै थिएन । असाध्यै धेरै देश, गणराज्यहरू त्यो भूभागमा थिए । अङ्ग्रेजले शासन लिँदै गर्दा र छोडे पछि पनि निकै देशहरू स्वतन्त्ररुपमा अस्तित्वमा थिए । यसैले भारतले सार्वजनिक गरेको अखण्ड भारत गलत छ ।

ग्रेटर नेपाल लिए के हुन्छ ?

यो प्रश्न सायदै कसैको दिमागमा आएको छ । ग्रेटर नेपाल भनिएको भूभाग फिर्ता पाउनु सामान्य कुरा होइन । भारत जस्तो शक्तिशाली देशबाट भूभाग फिर्ता पाउन अहिलेको अवस्थामा असम्भव नै छ ।

यसो त सो भूभाग ल्याए पनि नेपालमा समस्या भने रहिरहन्छ । त्यसको कारण हो, ती क्षेत्रमा रहेको जनसंख्या । नेपालले गुमाएको १ लाख ७७ हजार वर्ग किलोमिटर क्षेत्रमा अहिले लगभग ७ करोड जनसंख्या रहेको बताइन्छ । त्यो भनेको नेपालको भन्दा दुई गुणा भन्दा पनि धेरै ।

त्यो भूभाग नेपालमा आए, त्यहाँ नागरिकहरू पनि नेपालमा नै पर्छन् । उनीहरूलाई नेपालको नागरिकता दिनु पर्छ । त्यो पनि वंशज । त्यस्तो अवस्थामा नेपालको जनसंख्या १० करोडसम्म पुग्न सक्छ । त्यो जनसङ्ख्याबाट मतदान गर्न योग्य जनसंख्या अहिले नेपालको मतदान गर्न योग्य सङ्ख्याको दुई गुणा कम्तीमा बन्छन् ।

त्यत्रो जनसङ्ख्याले भोट हालेको नेता पक्कै पनि उनीहरू बीचबाटै हुन्छ । र अहिलेको नेपालको भन्दा बहुमत रहन्छ । त्यस्तोमा अहिलेका नेपाली नागरिक नै अल्पसङ्ख्यक बन्छन् ।

यदि उनीहरूले चाहेमा आधिकारिक रूपमा नै नेपाललाई भारतमा गाभ्ने सम्मको कानुन निर्माण गरिदिन सक्छन् । यसरी सोच्ने हो भने ग्रेटर नेपालको सोच अन्तिममा नेपाललाई नै घाँडो हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट