मालिकाका ४०० घरधुरी झिलिमिली-Sutra News

मालिकाका ४०० घरधुरी झिलिमिली

शनिबार, २७ जेष्ठ २०८०

शनिबार, २७ जेष्ठ २०८०

म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाका ४०० भन्दा बढी घरधुरीमा विद्युतीकरण भएको छ ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको हो ।



नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले संरचना निर्माण, ट्रान्सफर्मर चार्ज गरेर शनिबारदेखि विद्युत् आपूर्ति गराइएको जानकारी दिएको छ । केन्द्रका प्रमुख प्रशान्तकुमार झाले रुम ठूलोगाउँ, बिलबाङ, पन्थोक, गाल्दा टोलका तीन सय घरधुरीमा विजुली बलेको जानकारी दिए । यसैगरी मालिकाको वडा नं–३ मा पर्ने औला, स्याउलुङ, टिकरवाङ, डाडागाउँका एक सय १५ घरधुरीमा पनि विद्युत् विस्तार गरिएको उनको भनाइ छ ।

“दुई वटा वडामा विद्युतीकरणका लागि न्यू ढुङ्गाना निर्माण सेवा बेनीले रु एक करोड ६१ लाख १३ हजारमा ठेक्का लिएको थियो”, उनले भने, “नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमको रु एक करोड २६ लाख ६४ हजार र विद्युत् प्राधिकरणको रु २४ लाख ५० हजार बजेट लगानी भएको छ ।”

ठेक्कामार्फत मुख्य, शाखा प्रसारण लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफैंले गरेका हुन् । मालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले केन्द्रीय लाइनको बिजुली बलेपछि स्थानीयमा खुसियाली छाएको बताए ।

“लघु जलविद्युत् परियोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो”, उनले भने, “केन्द्रीय लाइनको बिजुली भएपछि उद्यम, व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्नेछ ।” शनिबार बिजुली बलेको खुसियालीमा रुमवासीले नाच गान गरेर खुसियाली मनाएका छन् । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी काम काज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको बताए ।

बेली, जेमलगायत छुटेका बस्तीमा पनि केन्द्रीय लाइनको विद्युत् विस्तार गर्न पहल गरिएको जनप्रतिनिधिहरुले बताएका छन् । लघु जलविद्युत् परियोजनाको विद्युत् नियमित नहुँदा सौर्य ऊर्जा र टुकीमा निर्भर हुनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट