प्रचण्ड र बाबुरामविरुद्धको ‘युद्ध अपराध’ मुद्दा सर्वोच्चमा दर्ता-Sutra News

प्रचण्ड र बाबुरामविरुद्धको ‘युद्ध अपराध’ मुद्दा सर्वोच्चमा दर्ता

आइतबार, २८ जेष्ठ २०८०

आइतबार, २८ जेष्ठ २०८०

माओवादी सशस्त्र द्वन्द्वकालमा बालबालिकाहरूलाई लडाकुको रूपमा प्रयोग गरेको आरोपमा पूर्व ‘बाल सैनिक’हरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।



तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईलाई विपक्षी बनाइएको मुद्दा आइतafर दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ ।

यसअघि जेठ २६ मा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले उनीहरूको मुद्दा दर्ता नगर्ने यसअघिको अदालत प्रशासनको निर्णय बदर गर्दै रिट निवेदन दर्ता गर्ने आदेश दिएका थिए।

बहिर्गमन जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टसहित नौ जनाले दर्ता गरेको रिटमा प्रचण्ड र भट्टराईमाथि अनुसन्धान गर्न प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । उनीहरूले प्रचण्डलाई प्रधानमन्त्रीबाट निलम्बन गर्न समेत माग गरेका छन् ।

माओवादी सशस्त्र द्वन्द्वकलाको विषयलाई लिएर प्रचण्डविरुद्ध अरू मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन छन् । यसअघि गत फागुनमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरिएका दुई वटा छुट्टाछुट्टै रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका थिए।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहित सशस्त्र द्वन्द्वकलामा माओवादीमा आबद्ध रहेका नेताहरूले द्वन्द्वकालीन मुद्दालाई नियमित अदालतमार्फत बढाउन नहुने तर्क गर्दै आएका छन्।

बिष्टसहितका निवेदकले सर्वोच्च अदालतका दर्ता गरेको रिटमा प्रचण्ड र भट्टराईविरुद्ध बालबालिकालाई युद्धमा प्रयोग गरेको आरोप लगाइएको छ।

“अबोध बालकलाई बन्दुक बोकाउनु, जासुसी गर्न लगाउनु, फ्रन्टलाइनमा पठाउनु, युद्धको सर सामान ढुवानी गर्न लगाउनु र हरहिसाबले जीउ ज्यानको खतराको सामु राख्नु अन्तर्राष्ट्रिय कानुन अनुसारको युद्ध अपराध हो,” निवेदनमा भनिएको छ।

संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनले नै आफूहरूलाई उमेर नपुगेका कारण माओवादी लडाकुमा प्रमाणित नगरेको दृष्टान्त दिँदै उनीहरूले “माओवादीले बाल योद्धा प्रयोग गरेको कुरा संयुक्त राष्ट्र सङ्घले प्रमाणित गरेको” दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट