संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा-Sutra News

संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा

आइतबार, २८ जेष्ठ २०८०

आइतबार, २८ जेष्ठ २०८०

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ ।



पूर्वबाल लडाकुसहितले प्रधानमन्त्री प्रचण्ड र डा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएपछि उनको राजीनामा मागिएको हो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नैतिकताका आधारमा पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने भन्दै उनले तत्काल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर अदालतलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका माधव सापकोटाले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरी यी कुराहरू राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई एकोहोरो गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँले बोलेको कुरा रेकर्डबाट हटाइयोस्,’ सांसद सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट