महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव-Sutra News

महोत्तरीको उत्तरी भेगमा खानेपानीको चरम अभाव

आइतबार, २८ जेष्ठ २०८०

आइतबार, २८ जेष्ठ २०८०

अत्यधिक गर्मी बढिरहेका बेला यहाँको उत्तरी क्षेत्रमा खानेपानीको अत्यन्तै अभाव भएको छ । बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रका एक सय १५ भन्दाबढी बस्तीमा अहिले खानेपानीको अभाव भएको हो ।



धाराबाट पानी वितरण हुँदै आएका स्रोतको मुहान सुकेपछि बर्दिबासका १४ वटै वडाका बस्तीमा घरघरै जडान गरिएका धारामा पानी आउन छाडेको छ । धाराको टुटी खोल्दा पानी नझरेपछि बढ्दो गर्मीमा सर्वसाधारण छट्पटिएका छन् ।

“तीन/चार दिन पहिलेसम्म त धारामा कुनै कुनै बेला पानी चुहेजस्तो गर्थ्यो, अब त पानी झर्न छाड्यो”, बर्दिबास–२ ओमशान्ति चोककी गृहिणी फूलमाया मगरले भनिन्, “खै अब कसलाई गुहार्ने होला ?” कुनै बेला धारामा पानी आउने आसमा पछिल्ला तीन दिनयता घरका परिवारजन राति पालो गरेर सुत्ने गरेको फूलमायाले बताइन् ।

बर्दिबासका वडा नं १, २, ३, ४, ५, १०, ११ र १४ का बस्तीमा खानेपानीको स्रोत नदी र खोल्सीबाट सङ्ग्रह गरिएको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने रहेको छ । यस्तै वडा नं ६, ७ र ८ मा धारा तथा इनार दुवै स्रोत छन् । वडा नं ९, १२ र १३ मा भने इनारकै भर छ । धाराका लागि पानी सङ्ग्रह गरिने नदीका मुहान र खोल्सीमा गर्मी बढेसँगै पानी सुक्दै गएपछि धारामा पानी आउन छाडेको बर्दिबास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कोषाध्यक्ष शङ्कर फुयाँल बताउँछन् ।

“खोल्सी र नदीका मुहान सुक्दै गएपछि पानी सङ्ग्रह र भण्डारणमा समस्या छ, हामी मुहान खोस्रँदै पानी बढाउने प्रयत्नमा छौँ”, फुयाँलले भने, “तर लगातार बढ्दो प्रचण्ड गर्मीले मुहान झनझन सुक्दै गएपछि अहिले भण्डारण गरिएको पानी अलिअलि गरेर सबै भेगमा बाँडेर जोहो गरिएको छ ।”

यसै गरी गौशाला र भङ्गाहा नगर क्षेत्रका धारा, इनार र चापाकल सुक्दै गएपछि सर्वसाधारण रनभुल्ल परेका छन् । आफ्ना बस्तीका इनार र चापाकल सुकेपछि नजिकको पलार बस्ती पुगेर पानी ल्याउनुपरेको भङ्गाहा–४ रामनगरका इस्लाम कवारीले बताए । “यसअघि कहिल्यै नसुकेका इनार र चापाकल अहिले सुके, खै के हुन लाग्यो ?”, कवारीले भने, “अब कसरी बाँच्ने होला ?”भङ्गाहाका प्रेमनगर, रामनगर, टोकाबस्ती, थारुटोल बनरा, कर्पुरगञ्ज, राजपुर, भू–चक्रपुर र सीतापुरसहितका बस्तीका ८० प्रतिशत चापाकल र इनार सुकेका कवारी बताउँछन् ।

बस्तीमा पानीका स्रोत सुक्दै गएपछि खान पिउन मात्र नभई नुहाउन तथा लुगा धुन, पशुलाई पानी खुवाउन पनि समस्या बढेको छ । यस भेगका बासिन्दा बयल गाडामा दुई किलोमिटर तलका बस्तीमा पानी लिन धाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट