भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने १४औँ साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाली टोलीले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपालले फिलिपिन्ससँग जेठ ३२ गते मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार फिलिपिन्स जाने टोलीको बिदाइ गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङलगायतले बिदाइ गरे । नेपाली टोली सोमबार फिलिपिन्स प्रस्थान गर्नेछ ।
मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट भारत जानेछ । साफअघि फिलिपिन्ससँगको मैत्रीपूर्ण खेललाई नेपालले आफ्नो गल्ती र कमजोरी सुधार गर्ने अवसरको रूपमा लिएको छ ।
मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि एन्फाले बिहीबारमात्र २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिसकेको छ ।
नेपाल दक्षिण एसियाकै ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले दुई साताअघि गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक भारत, पाकिस्तान र आमन्त्रित टोली कुवेत रहेको छ ।