नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफूले सुरु गरेको विकासका कामको परिणाम देखिन थालेको बताएका छन् । उनले नवलपरासी-१ को विकासका लागि व्यवस्थित रूपमा कामको सुरुवात भएको बताए ।
आइतबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिबद्धतापूर्ण रूपमा यो क्षेत्रको विकासका लागि काम गरेका छौं । म निर्वाचित भएको ६ महिनामै त्यसको परिणाम तपाईहरू सबैले देख्नुभएको छ ।’
नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिबद्धता कार्यान्वयनमा आफू इमानदार भएको बताए । ‘यहाँका नागरिकले मलाई निर्वाचित गराएर ऋण लगाउनुभएको छ । मतदाताको ऋण म सधैं सम्झिरहेको छु । चुनावी प्रतिबद्धता कार्यान्वयनका लागि एउटा सिस्टमको निर्माण गरेको छु र उपलब्धिलाई संस्थागत गर्न म सदैव सक्रिय छु,’ उनले भने ।
उनले वर्षौदेखि समस्याका रूपमा रहेको गण्डक आयोजनाको कामले तीव्रता पाएको बताए । ‘हरेक वर्ष मनसुन आउने बित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो । अहिले ८० करोडको लागतमा बिसौं वर्षसम्म बिग्रेर रहेका बाँध तथा ठोकरहरूको मर्मत सम्भारको काम तीब्रताका साथ अगाडि बढेको छ,’ उनले थपे, ‘सरोकारवालाहरूले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुबान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टर प्लान निर्माण कार्य अगाडि बढेको छ ।’
सांसद चौधरी निर्वाचित भएपछि नारायण घाट–बुटवल सडक खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । ५४ महिनाको दौरानमा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत यो सडक खण्डमा पछिल्लो एक महिनामा तीन प्रतिशत बढी काम भएको छ ।
अबको आठ महिनाभित्रै नवलपरासी खण्डको सडक निर्माण सम्पन्न हुने प्रतिबद्धता ठेकेदार कम्पनीले आफूसँग गरेको सांसद चौधरीले पत्रकार सम्मेलनमा बताए ।