संघीय संसदमा यतिबेला नयाँ आर्थिक वर्षको बजेटमाथि घनिभूत छलफल चलिरहेको छ । बजेटप्रति सत्तारूढ दलकै सांसदहरू असन्तुष्ट रहेको कुरा सर्वविदितै छ ।
सत्तारूढ दलको महत्त्वपूर्ण घटक नेकपा एकीकृत समाजवादीले त यथास्थितिमा बजेट पारित भए सरकार ढल्ने सार्वजनिक चेतावनी दिंदै आएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला गोरखा र अर्थमन्त्री प्रकाश शरण महतको गृहजिल्ला नुवाकोटमा बजेट केन्द्रित भएको भन्दै सत्तारूढ दलका सांसदहरू नै असन्तुष्ट हुँदा बजेट पास हुने या नहुने अन्यौल छ भलै प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ अर्थमन्त्री महतले दिने संघीय संसदको कार्यसूची छ ।
आफ्नो जवाफबाट सत्तारूढ दलकै सांसदहरूलाई आश्वस्त पार्न नसके यो बजेट फेल भएर यो सरकार ढलेमा आश्चर्य मान्नुपर्ने कुरा हुने छैन् ।
दिल्लीमा भएको २०६२ को १२ बुँदे सहमतिपछि नेपालको सत्ता राजनीतिमा भारत हावी भएको तथ्य राजनीतिमा चासो राख्ने जो कसैलाई प्रष्ट भएकै विषय हो ।
भारतीय संस्थापनलाई खुशी पार्न प्रधानमन्त्री प्रचण्ड उज्जैनको महाकालेश्वरमा गेरु वस्त्र लगाएर जानुपर्ने परिस्थिति निर्माण हुनुले नेपालको सत्ता राजनीतिमा भारत कुन हदसम्म निर्णायक छ भन्ने बुझ्न सहज हुन्छ ।
भारत भ्रमणको क्रममा उज्जैन यात्रा विवादित बनेपछि प्रधानमन्त्री प्रचण्ड केही दिन अगाडि मात्रै पशुपतिनाथमा सन्ध्या आरतीको क्रममा पुगेका थिए ।
नेपालमा सत्ता परिवर्तनको हल्ला चलिरहेको समयमा प्रतिनिधिसभा सदस्य समेत रहेकी कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवा नयाँ दिल्ली हानिएकी छिन् ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा सोमबार बिहान ११ बजे राणा दिल्ली निस्किएकी हुन् ।
उनको दिल्ली भ्रमणबारे नेपाली कांग्रेस र राणाको सचिवालयले समेत अहिलेसम्म कुनै औपचारिक जानकारी विवरण समेत सार्वजनिक गरेको छैन् ।
संघीय संसदको तेस्रो दल भएर पनि सत्ताको नेतृत्व गर्ने सौभाग्य प्राप्त गरेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारूढ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उच्च तहका नेताहरूलाई नै कानुनको कठघरामा उभ्याएपछी प्रचण्डप्रती कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली नै असन्तुष्ट रहेको बताइन्छ ।
अर्कोतिर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एक जना अभियुक्तले प्रधानमन्त्री प्रचण्डको समेत नामै किटेर बयान दिएको तथा तत्कालीन माओवादीले नेतृत्व गरेको सशस्त्र संघर्षमा प्रयोग भएका बालसेनाहरूले युद्ध अपराधको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको अवस्थामा कांग्रेस सभापति देउवा पत्नी राणाले दिल्ली भ्रमणले थप शंसय भने प्रदान गरेको छ ।
(*आरजु राणा हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ। त्रुटिका लागि क्षमाप्राथी छौं। संपादक)