निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा नजाने भन्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले आत्तिनु नपर्ने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटबारे सांसदहरूले उठाएका प्रश्नको सोमबार जवाफ दिँदै अर्थमन्त्री महतले बजेटको महत्त्व कम देखाउन निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट सांसदको खल्तीमा जाने गरी विनियोजन भयो भनेर प्रचार गरिएको बताए । प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड बजेट विनियोजन गरेका उनले भने, ‘यो रकम माननीयहरूको खल्तीमा जाने होइन ।’
सांसदहरूको सिफारिसमा बढीमा ५ वटा योजनामा रकम खर्च गर्ने र त्यसको ठेक्का सम्बन्धित मन्त्रालयले लगाउने उनले बताए । ‘माननीय ज्यूहरूले सिफारिस पनि गर्न नहुने जायज छैन’, अर्थमन्त्री डा. महतले अघि भने, ‘जनताको अपेक्षा धेरै छ, सांसदहरूलाई ल मेकरका रूपमा मात्र जनताले बुझेका छैनन्, सुख दुःखमा सम्बोधन गरिदिओस् । त्यस कारण सिफारिस जायज छ ।’
यदि कुनै निर्वाचन क्षेत्रका सांसदहरूले यो रकम नलिने हो भने रकमान्तर भएर पुँजीगत खर्चका रूपमा उपयोग गर्ने अर्थमन्त्री डा. महतले बताए ।