आँप र ‘कोल्ड ड्रिंक’ सँगै पिउँदा के असर गर्छ ?-Sutra News

आँप र ‘कोल्ड ड्रिंक’ सँगै पिउँदा के असर गर्छ ?

सोमबार, २९ जेष्ठ २०८०

सोमबार, २९ जेष्ठ २०८०

तपाईंको फेसबुकतिर वा म्यासेन्जरतिर एउटा फोटो वा खबर आइसकेको हुनुपर्छ, जसमा लेखिएको हुनेछ – ‘आँप खाएपछि चिसो पेय पदार्थ नपिउनुहोस् । केही यात्रुहरू चण्डीगढ घुम्न गएका थिए । आँप खाएपछि उनीहरूले तुरुन्तै चिसो पेय पिए । तिनीहरू बेचैन भए र तिनीहरू सबै बेहोस हुन थाले । उनीहरू सबैलाई अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरले आँप खाइसकेपछि कुनै पनि चिसो पेय पदार्थ वा सफ्ट ड्रिङ्क नपिउनु पर्ने बताए । आँपमा साइट्रिक एसिड र चिसो पेय पदार्थमा कार्बोनिक एसिड मिसाउँदा शरीरमा विष उत्पादन हुन्छ । कृपया यो सन्देश सबै प्रियजनहरुमा फरवार्ड गर्नुहोस् । किनकि आँपको सिजन सुरु भएको छ ।’



यो खबर सामाजिक सञ्जालमा फैलिँदा केही मानिसहरूलाई यसले अत्त्याएको छ । अथवा सतर्क बनाएको छ । उनीहरू चाहन्छन् कि कसैले पनि ज्यान गुमाउन नपरोस् । मान्छेहरूमा रहेको यो मानवता प्रशंसनीय छ तर के वास्तवमा आँप र चिसो पेय पिउँदा ज्यान जान्छ ?

आउनुहोस् यो बारेमा कुरा गरौँ ।

सबैभन्दा पहिले यो म्यासेज कहाँबाट सुरु भएको हो र यो ज्ञान सबैभन्दा कसले पत्ता लगायो भन्ने बारेमा केही जानकारी छैन । बेनामे पर्चाजस्तो यो खबर कता कताबाट पोस्ट र सेयर हुँदै आएको हो । यसैले स्रोत हेरेर यो खबर सही कि गलत भन्ने बारेमा केही भन्न सकिन्न । यसैले यो खबरमा भनिएको कुराको बारेमा थाहा पाउनुपर्छ ।

वैज्ञानिक तथ्य हेर्ने हो भने साइट्रिक एसिड मानव स्वास्थ्यका लागि उपयोगी रसायन हो । यो फलफूलहरूबाट हामी लिने गर्छौँ । यसका लागि धेरै फलफूलहरू छन् तर आँप धेरै साइट्रिक एसिड पाइने फल अन्तर्गत पर्दैन । धेरै साइट्रिक एसिड पाइने फलहरूमा कागती, निबुवा, सुन्तलालगायत पर्छ । तर आँपमा साइट्रिक एसिड पाइँदै नपाइने भने होइन । आँप कति पाकेको छ भन्ने कुराले त्यसमा कति मात्रामा साइट्रिक एसिड छ भन्ने निर्धारण भने गर्छ ।

त्यस्तै पेय पदार्थमा कार्बोनिक एसिड हुन्छ । यसले पेय पदार्थमा फिँज ल्याउन सहयोग गर्छ । जब बोतल खोलिन्छ तब त्यसमा प्रेसर कम हुन्छ । यसले पेय पदार्थमा रहेको कार्बोनिक एसिडलाई कार्बन डाइअक्साइड र पानीमा परिवर्तन गर्छ । जसले गर्दा पेय पदार्थ खोल्दा फिँज आउँछ । कार्बोनिक एसिडले मानव शरीरमा दाँतहरू कमजोर बनाउने, निन्द्रा पर्न नदिने लगायतका कामहरू गराउन सक्छ ।

यसैले यी दुई रसायनहरूले अलग अलग रूपमा स्वास्थ्यमा फाइदा नोक्सान पार्न सक्छन् तर दुई मिसिएर बन्ने रसायनबाट भने केही फरक पर्दैन । किनभने, यी दुई रसायनहरूले एकापसमा रियाक्सन नै गर्दैनन् । एकापसमा रासायनिक प्रतिक्रिया नै नगर्ने भएपछि नयाँ केही बन्ने र त्यो हानिकारक वा विष बन्ने त सम्भावना नै रहँदैन । यसैले यहाँ दाबी गरिएको कुरा एकदमै गलत हो ।

अझ कतिपय यस्ता सन्देशमा त यी दुई कुरा मिसिएर साइनाइड बन्ने पनि दाबी गरिएको हुन्छ । त्यो पनि अफवाह हो । किनभने साइनाइड बन्न नाइट्रोजनको आवश्यकता हुन्छ । कार्बन, हाइड्रोजन र अक्सिजन मात्रै रहेर बनेका यी एसिडहरू मिसिएर नाइट्रोजन बन्ने र त्योबाट साइनाइड बन्दैन ।

यसैले ढुक्क भएर आँप र पेय पदार्थ सँगै खाए हुन्छ । तर ध्यानमा राख्नुहोस् कि कुनै पनि कुरा धेरै भने सेवन गर्नु हुँदैन । त्यसमाथि पेय पदार्थहरूमा हुने अत्यधिक चिनीको मात्राले शरीरलाई हानी गर्ने कुरा त वैज्ञानिक रूपमा पनि पुष्टि भएको छ ।
भिडियोमापनि हेर्नुस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट