काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । तत्कालीन अयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको मुद्दाको सुनुवाइ आज न्यायाधीश प्रधानको इजलासमा परेको हो ।
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई अयोग्य लडाकुका नाममा अपमान गरिएको भन्दै रिट दायर गरिएको थियो ।
अयोग्य लडाकु भनेर बिदा गरिएका मध्येका विष्टसहितले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. भट्टराईलगायत व्यक्तिविरुद्ध दायर गरेको रिट गएको आइतबार सर्वोच्च अदालतमा दर्ता गरिएको थियो । उक्त मुद्दामा मंगलबार सुनुवाइ हुन लागेको हो ।
विष्टसहित बहिर्गमित जनमुक्ति सेनाका संस्थापक कृष्णप्रसाद दंगाललगायत व्यक्तिले प्रचण्ड र डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।
उनीहरूले विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म न्याय नपाएको, बालसेनाको पहिचान समेत नभएको भन्दै पहिचान दिई परिपूरण क्षतिपूर्तिको माग गरेका छन् ।
उनीहरू यो मुद्दा लिएर यही जेठ १६ गते नै सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । जेठ २६ मा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश दिएको थियो । सोही आदेशका आधारमा जेठ २८ गते दर्ता भएको मुद्दाको आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।