केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पाटीका सांसद हरि ढकाल र राप्रपा नेपालका सांसद ज्ञानेन्द्र शाहीले संसद् भवन मै प्रधानमन्त्री प्रचण्डलाई पशुपतिनाथको दर्शन गर्न आग्रह गरेका थिए ।
भएको के थियो भने, प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा उज्जैनमा रहेको महाकालेश्वर मन्दिर पुगेर गेरु वस्त्रमा पूजा गरेका थिए । सो मन्दिरलाई भारतका १२ ज्योतिर्लिङ्गमध्ये महाकालेश्वरको हिन्दु पुराणमा वर्णन गरेको पाइन्छ । भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्ड मन्दिर दर्शन गर्न जाँदा कतिले प्रशंसा गरेका थिए भने कतिले कम्युनिस्ट नेता मन्दिर गयो भनेर आलोचना समेत गरेका थिए । प्रधानमन्त्रीका पूर्व राजनीतिक सहकर्मी तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो फेसबुकमा प्रचण्डले मन्दिरमा पूजा गर्दै गरेको फोटो राखेर ‘हामी कता जाँदैछौं ? देश कता जाँदैछ?’ भनेर पोस्ट गरेका थिए । यस्तै कम्युनिस्ट नेता र कम्युनिस्ट सिद्दान्तमा विश्वास गर्ने सर्वसाधारणले उनको त्यो कदम प्रति आलोचना गरेका थिए । देशको प्रधानमन्त्री रहेका प्रचण्डले धर्म निरपेक्षतालाई आत्मसाथ गरेर सबै धर्म समान रहेको भनेर उदाहरण दिनुको साटो भारतको मन्दिरमा गेरु वस्त्र लगाएर पूजा गरेको भनेर आलोचना गरेका थिए । त्यही प्रसङ्गलाई आधार मानेर रास्वपा र राप्रपाका सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई पशुपतिनाथको समेत दर्शन गरिहाल्न सुझाव दिएका थिए ।
यसो त, मन्दिर दर्शनलाई कतिपयले प्रधानमन्त्री प्रचण्डको मोदीसँग नजिक हुन चाल चलेको भनेका छन् । किनभने प्रचण्डले देशमा धर्म निरपेक्षता ल्याउन ठुलो भूमिका खेलेका थिए । त्यसैले उनलाई हिन्दुवादीहरूले हिन्दु धर्म विरोधी भन्ने गरेका छन् । त्यसैले कतिले प्रचण्डको पछिल्लो कदम हिन्दुवादी राजनीतिप्रति केन्द्रित रहेको बताएका छन् । मन्दिर दर्शन गर्न गएर उनले हिन्दुवादीहरूको समेत समर्थन पाउन खोजेको भनेर अर्थ्याएका छन् ।
तर यसबारेमा स्वयम प्रचण्डले स्पष्टीकरण दिएका छन् । उनले भनेका छन् – आफू धर्म निरपेक्षतावादी नै रहे पनि करोडौं भारतीय जनताको मनमा चिसो नपसोस् भनेर मैले पूजा गरेको हुँ । यो कदम सांस्कृतिक कूटनीतिक रूपमा बुझ्नुपर्छ र यसले कूटनीतिक रुपमा नेपाललाई नै फाइदा गर्नेछ ।
त्यसो हो भने प्रचण्डले नेपालमा आएर पशुपतिनाथको दर्शन किन गरे त ? उनले भारतीयहरुको मनमा चिसो नपार्न भारतको मन्दिर दर्शन गरे जस्तै नेपालीको मनमा पसेको चिसो हटाउन पशुपतिनाथको दर्शन गरेका हुन् कि भन्ने प्रश्न आउँछ । त्यो बाहेक सांसदहरुको सुझाव अनुसार होस् या आफ्नै रहरको कारण होस्, प्रचण्ड पशुपतिनाथ पुगेका छन् र उनले दर्शन गरेका छन् । उनी आफूमात्र नभएर आफूसँग अन्य मन्त्रीहरूलाई पनि साथै पशुपतिनाथ लगेका थिए । उनीसँग आफ्नी छोरी बाहेक केही मन्त्रीहरूले पनि दर्शन गरेका थिए । पशुपति दर्शन गर्न अर्थमन्त्री डा. प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए ।
भैंसी पूजादेखि सुरु भएर पछिल्लो घटनाक्रम हेर्दा प्रचण्डको मन्दिर प्रतिको लगाव बढ्दै गएको बुझ्न सकिन्छ । यदि उनी अब मन्दिरकै शरणमा पुगेका हुन् भने उनले अहिलेसम्म बोकेको सिद्धान्त गलत थियो भन्न सकिन्छ । यदि राजनीतिक रुपमा उनले पशुपतिनाथ दर्शन गर्न गएका हुन् भने त्यसले धर्म निरपेक्षलाई नेपालमा जसरी कुनै पनि धर्म देखि नसहनेका रुपमा व्याख्या गरिन्छ त्यसमा परिवर्तन हुन सक्छ ।
ी सबै धर्मलाई समान व्यवहार गर्ने भन्ने बुझिन्छ । यसले कुनै धर्म नास्ने र कुनै धर्मलाई फैलिन सहयोग गर्ने भन्ने बुझाउँदैन । बरु उल्टो कुनै पनि धर्मका बारेमा कुनै पनि किसिमको आग्रह पूर्वाग्रह राख्नु चै हुन्छ । प्रचण्डले राजनीतिक रुपमा यो बुझाउन चाहेका हुन् भने त्यसले सकारात्मक प्रभाव पार्न सक्छ । तर त्यसो नभएर धार्मिक बनेर त्यसलाई राजनीतिकरुपमा प्रयोग गर्न चाहेका हुन् भने त्यसको नतिजा पक्कै पनि सहि नहुन सक्छ ।