दाङमा नाम मात्रको राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै, बन्दैछ संयोजक खेतुलालको खेती-Sutra News

दाङमा नाम मात्रको राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै, बन्दैछ संयोजक खेतुलालको खेती

बुधबार, ३१ जेष्ठ २०८०

बुधबार, ३१ जेष्ठ २०८०

असार १ गतेदेखि लुम्बिनी प्रदेशको दाङमा तीन दिने राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदैछ।



यसको आयोजक हो चलचित्र विकास बोर्ड भने यो पूरै कार्यक्रमका संयोजक हुन् माओवादी कोटाबाट राजनीतिक नियूक्ति लिएका खेतुलाल बिसी अर्थात के एल पीडित।

तर यो कार्यक्रम फिल्म महोत्सव कम सांस्कृतिक कार्यक्रम जस्तो छ।

महोत्सव दिन नजिकिदां समेत महोत्सव कार्यतालिका समेत सार्वजनिक भएको छैन। महोत्सवको संचारमाध्यममा समेत कुनै चर्चापरिचर्चा छैन। यसबारेमा नेपाली सिनेकर्मीहरु समेत बेखबर छन्।

संयोजक रहेका पीडितले कार्यक्रमको नाममा एउटा पोस्टर सार्वजनिक गरेका छन् जसमा फिल्म प्रदर्शन, बालबालिकासँग भुवन केसी, चलचित्र नृत्य प्रतियोगिता, चलचित्र हाजिरीजवाफ प्रतियोगिता तथा पुस्तक तथा फोटो प्रदर्शनी हुने उल्लेख छ। योसँगै त्यो पोस्टरमा स्थानिय मौलिक लोककला, संस्कृति एवं झाँकीहरुको प्रदर्शन भन्ने मात्र उल्लेख छ।

जबकी यस्ता महोत्सवका बारेमा पहिले नै दिन तथा समय तोकेर के कहिले र कतिखेर भनेर विस्तृति विवरणसहितको तालिका सार्वजनि, गरिने गरिन्छ।

कार्यक्रमका लागि पीडितले स्थानीयरुपमा आयोजक समितिको गठन गरेका छन् तर सोका बारेमा कुनै औपचारिक जानकारी कतै सार्वजनिक गरेका छैनन्।

नाम बाल चलचित्र महोत्सव भएपनि त्यसमा बाल कलाकसर तथा बाल सिनेमा र कलाकारहरुको उपस्थिति शून्य छ ।

कार्यक्रमको उद्घाटन सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले गर्दैछिन्। यो महोत्सव गर्न पीडित एक्लै बढिरहेको वोर्ड श्रोतले जनाएको छ। महोत्सचमा यहाँसम्मको लापरवाही गरिएको छ कि देखाइने बाल चलचित्रहरुको समेत उचित टुंगो लागेको छैन।

महोत्सवमा देखाउन पर्याप्त चलचित्रसमेत संकलन हुन सकेको छैन। यसै कारणले गर्दा उनीहरुले बालबालिकाका केही र बाँकी अन्य सिनेमा देखाउने तयारीमा रहेका छन्।

महोत्सवमा यो किसिमको अव्यवस्थापन पहिलोपटक देख्न लागेको चलचित्रकर्मीले बताएका छन्। कार्यक्रमा पीडितले प्रभावकारी कार्यक्रमको योजना बनाउन नसकेको बोर्डका सदस्यहरुले बताएका छन्।

सम्भवतः महोत्सवमा ‘ऐना झ्यालको पुतली’सँगै बोर्डले डिजिटल रुपान्तरण गरेका ‘आमा’ लगायतका सिनेमा देखाएरै महोत्सव सक्ने तयारी गरेको छ। महोत्सवमा कतिवटा सिनेमा प्रदर्शन गरिदैंछ भन्ने सम्मको न्यूनतम जानकारी बोर्डले दिन सकेको छैन।

१५ लाख रुपैयाँको सरकारी खर्चमा हुन लागेको महोत्सवले राष्ट्रिय रुप लिनुपर्नेमा कुनै स्थानिय सास्कृतिक कार्यक्रमको जस्तो क्रियाकलाप हुन लागेको छ। यसकिसिमको भद्रगोल महोत्सवले उपलब्धी भन्दा पनि राज्यको पैसाको खर्च गर्ने बाहेकको कुनै उपलब्धि नहुने देखाइसकेको छ।

यस कार्यक्रममा सहभागी हुन पीडितले विषयसम्बद्ध भन्दा पनि आफू निकट चलचित्रकर्मी त्यसमा पनि माओवादी निकट चलचित्रकर्मीलाई समावेश गरेका छन्।

कार्यक्रममा बोर्ड अध्यक्षको हैसियतमा भुवन केसी सहभागी हुँदैछन् भने उनका अलावा माओवादी निकट संगीतकार चेतन सापकोटा, गायिका सत्यकला राईको सहभागी हुँदैछ। राई कलाकार तथा निर्मातासँगका अध्यक्ष नवल खड्काकी पत्नी हुन्। खड्का माओवादी निकट चलचित्रकर्मी हुन्। उनीहरुको उपस्थिति महोत्सवको उदेश्यसँग मेल खाँदैन।

यस्तै महोत्सवमा अभिनेत्री तथा निर्देशक झरना थापाले पनि सहभागिता जनाउनेछिन्।

यसअघिका चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले नेपाली सिनेमाका दर्शक बढाउन र कलिलो उमेरदेखि नै दर्शकमा सिनेमा साक्षरता अभिवृद्धि गर्न बाल चलचित्र महोत्सवको अवधारणा अघि सारेका थिए । यसका लागि उनले समिति बनाएर सिनेमाको माध्यमबाट बालबालिकासँग काम गरिहेका ब्रिटिश काउन्सिल र युनिसेफ जस्ता संस्थालाई पनि सदस्यको रुपमा जोडेका थिए ।

तर महोत्सवको शीर्षक अनुसारको संवेदनशील नदेखिएको र खेतुलालले जथाभावी महोत्सव गर्न लागेको छनक पाएसँगै महोत्सवमा साझेदारी गर्न तयार भएको ब्रिटिस काउन्सिल र युनिसेफले हात झिकिसकेका छन्।

देशमा हुने अन्य महोत्सवहरुमा चलचित्र सम्बद्ध संघसंस्थाले राम्रो सहकार्य गर्ने गरेको भएपनि यसपटक भने चलचित्रसँग सम्बन्धित अन्य संस्थाको संलग्नता र सहकार्य देखिएको छैन।

महोत्सवले कार्यक्रमका लागि १५ लाखको बजेट पास गरेको छ। यो बजेटमा आधा भन्दा रकम यातायात र बसोबासमा खर्च हुँदैछ।
समग्रमा पीडितले यो महोत्सवबाट सिनेमा भन्दा पनि आफूलाई गृहजिल्लामा ज्यादा हाइलाईट गरेर रफाव स्थापित गर्ने ध्याउन्नमा लागेका छन्।

को हुन् खेतीलाल बुढाथोकी(केएल पीडित)?

उनले आफ्नो फेसबुक प्रोफाइलमा आफूलाई पत्रकार, गीतकार तथा फिल्मकर्मीका रुपमा प्रस्तुत गरेका छन्। उनी पूर्व शिक्षकसमेत रहेका उनले एउटा ‘आव्हान’ नामक सांगीतिक एल्बम निकालेका छन् भने दुई वटा सिनेमा निर्माण तथा निर्देशन गरेको उनको फेसबुक प्रोफाइलबाट खुल्छ। उनले बनाएका सुई सिनेमा ‘लवाजुनी’ तथा थारु भाषामा ‘भुइँह्यार’ बनाएका छन्।

यस्तै उनी उत्सर्ग फिल्मसबाट हुने नृत्य तथा गायन प्रतियोगितामा सक्रिय रहने गरेका छन्।

उनी पूर्व शिक्षक तथा दाङ जिल्लाको पत्रकार संघका पूर्वअध्यक्ष समेत हुन्। हाल पत्रकार महासंघ दाङ जिल्लाबाट केन्द्रिय सभासद् रहेका छन्।

उनले यो पदपनि राजनीतिक भागबण्डाका रुपमा प्राप्त गरेका हुन्। समाचार लेखनमा उनको खासै सक्रियता नरेहेको जिल्का क्रियाशिल पत्रकारहरु बताउँछन्। फेसबुक प्रोफाइलमा उनले आफ्नो आबद्धता पहलसन्चार डटकममा रहेको उल्लेख गरेका छन्।

सो अनलाइन हाल खुल्दैन। उनको अधिकांश समय राजनीतिमा बित्ने गरेको छ। संकटकाल बेलामा आर्मीले उनलाई एक-दुई पटक नियन्त्रणमा लिएको दाङमा कार्यरत पत्रकारहरुले जानकारी दिएका छन्।

मूलतः उनी माओवादीका राजनीतिक कार्यकर्ता हुन् भने उनका दाजुभाइ अन्य पार्टीमा सक्रिय छन्। उनका एक दाजु नेकपा एमालेको जिल्लास्तरीय नेता हुन् भने भाइ हाल माधवकुमार नेपाल समाजवादी पार्टीमा सक्रिय छन् भने बाबु नेपाली काँग्रेसप्रति आस्था राख्छन्।

माओवादी कार्यकर्ता भएको र संचारमन्त्री पनि आफ्नै क्षेत्रको भएका कारण उनले यो राजनीतिक नियूक्ति लिन सकेका हुन्।

उनले यही कुरालाई भजाउँदै बोर्डमा समेत अनावश्यक हस्तक्षेप गर्ने गरेका छन्। यही कारणले उनले आफ्ना लागि बोर्डमा छुट्टै कार्यकक्ष बनाएका छन्। जबकी अन्य दुई बोर्ड सदस्य रविचन्द्र अधिकारी तथा राजु केसीलाई एउटै कोठामा एक-एक टेबलमा अटाएका छन्।

अनुभव र सक्रियताका आधारमा अधिकारी र केसीको क्षमता बढी छ। यसै कारणले पनि बोर्डमा नियूक्ति पाएका उनी ‘वान म्यान आउट’ जस्ता छन्।

महोत्सवसँगै बोर्डका अन्य काममा समेत अनावश्यक हस्तक्षेप गर्ने शैलीका कारण महोत्सवलाई खेतुलालको खेतीका रुपमा व्याख्या गरिएको छ। उनको स्वेच्छाचारी गतिविधिका कारण उनलाई स्थानीय सरकारको सहयोगसमेत मिल्न सकेको छैन।

यो महोत्सव आफ्नो उदेश्यभन्दा पनि बुढाथोकीको लहडमा हुन लागिरहेको छ। लहडका भरमा हुने कामको नतिजा के हुन्छ, त्यसमा थप व्याख्या गरिरहनु नपर्ला।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट