गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ।
संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताएका हुन् ।
सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन् । जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ । नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका छन् । भम्रण तथा विद्यार्थी भिसामा रसिया पुगेका नेपाली युवाहरू धमाधम त्यहाँको सेनामा भर्ती भएको चर्चा छ।
तर, रसियामै बस्ने संघका अध्यक्ष डा.केसीले भने यस विषयमा आफूले पनि सामाजिक सञ्जालबाटै जानकारी पाएको बताए। ‘यस विषयमा हामीलाई केही जानकारी छैन । मैले पनि सामाजिक सञ्जालमा देखेको हुँ,’ डा.केसीले भने, ‘मस्कोस्थित दूतावासलाई समेत यसबारे केही जानकारी छैन । दूतावासका अधिकारीसँग म नियमित सम्पर्कमा छु।’
यो विषयमा आफूहरूले बुझ्ने प्रयास गरिरहेको डा. केसीको भनाइ छ।