उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ ।
समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनुहुने गरी पाँच सदस्यीय उपसमिति गठन भएको हो । समितिको आजको बैठकले चिनी उद्योग तथा उखु किसानका समस्या तथा सुझाव अध्ययन उपसमिति गठन गरेको छ ।
उपसमितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । ज्येष्ठ सदस्यका रूपमा समिति बैठकको सभापतित्व रणेन्द्र बरालीले गरेका थिए । उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम तथा न्यूनतम समर्थन मूल्य नपाएको लगायतका विषयबारे यो उपसमितिले अध्ययन गरेर समितिमा सुझाव पेस गर्नेछ ।
त्यस्तै, आगामी आर्थिक वर्षको बजेटले सुनको भन्सार बढाएको तथा सुनचाँदीलाई विलासिताको वस्तुको रूपमा राखेको विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघको उजुरी र पेट्रोलियम पदार्थमा भएको अनुचित मूल्यवृद्धिबारे उपभोक्ता हित संरक्षण मञ्च–नेपाल को उजुरी माथि पनि छलफल भएको छ । समितिको आगामी बैठकमा यी विषयसँग जोडिएका सम्बन्धित मन्त्रालय तथा निकायका पदाधिकारीलाई बोलाएर छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।