कोशी प्रदेशको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गरेका हुन् ।
उनले बुधबार नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । प्रदेश सरकारले बुधबार गरेको सिफारिसअनुसार प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।
बर्खे अधिवेशन अन्त्य भएसँगै अल्पमतमा परेका एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की सरकारलाई अध्यादेशबाट आउँदो आर्थिक वर्ष २०८०–०८१ को बजेट ल्याउन बाटो खुलेको छ ।
संविधानअनुसार असार १ गतेसम्ममा प्रदेश सभामा सरकारले बजेट पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । तर सरकारले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेर प्रदेश सभालाई छलेर अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो । अल्पमतमा परेपछि उनले प्रदेश सभा छलेर अध्यादेशको बाटो रोजेका हुन् ।