अबको महाधिवेशनमा गगन थापाको सभापतिको उम्मेदवार मै हो : शेखर कोइराला-Sutra News

अबको महाधिवेशनमा गगन थापाको सभापतिको उम्मेदवार मै हो : शेखर कोइराला

बिहिबार, ३२ जेष्ठ २०८०

बिहिबार, ३२ जेष्ठ २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको नेतृत्व लिन १५ औं महाधिवेशनमा आफूले पुनः प्रयास गर्ने बताएका छन् । १४ औं महाधिवेशनमा एकपटक मात्रै उम्मेदवार बन्ने भनेपनि बदलिएको परिस्थिति, पार्टी सदस्यहरुको चाहना र आवश्यकताका आधारमा आफू सभापतिको प्रत्याशी रहने स्पष्ट पारेका हुन् ।



उनले कसैप्रति कटु वा रुखो वचन बोल्ने आफ्नो स्वभाव नरहेको भन्दै आफ्नो समूहको विस्तारमा ध्यान दिएको बताए । “मैले अघिल्लो महाधिवेशनमा जे भनेको भएपनि परिस्थिति परिवर्तन भइसकेको छ । सबै जना प्रष्ट हुनुहोला म सभापतिको तयारीमा छु ”, शेखरको भनाई छ ।

उनले महामन्त्री गगन थापासँग आफ्नो सम्बन्ध सुमधुर रहेको भन्दै पार्टी सभापति बन्न साथ दिने वचन थापाले दिइसकेको बताए ।

“गगनजी र मेरो बीचमा कुनै समस्या छैन । हामी निरन्तर संवादमा छौं । भ्रातृसंस्थामा दुवैले सल्लाह गरेर नाम दिएका हौं । हामीलाई मिल्न नदिन कसैले अनेक हल्ला चलाउने गरेका छन् । त्यसमा सत्यता छैन । गगनजी आफैले संसदीय दलको निर्वाचनका बेला मलाई सभापति बनाउने घोषणा साथीहरुको बीचमा गरिसक्नुभएको छ”, उनले भने ।

महामन्त्री थापा र आफूबीचको सम्बन्ध बिगार्न दुवै समूहका नेताहरु लागेको हुनसक्ने भन्दै उनले यसबारे नेता कार्यकर्ताहरु सचेत हुनुपर्ने बताए । यसअघि महामन्त्री थापाले पनि नेता कोइरालासँग आफ्नो सम्बन्ध प्रगाढ रहेको बताएका थिए । गगन र आफ्नो बोल्ने र काम गर्ने शैली फरक भएपनि एजेण्डा एउटै रहेको कोइरालाको भनाई छ ।

कान्तिपुर टेलिभिजनको कार्यक्रमा “टफ टक” मा दिलभूषण पाठकसँग गरिएको कुराकानीमा डा.शेखरले १४ औं महाधिवेशनमा आफूले ४० प्रतिशत मत पाएको स्मरण गराउँदै त्यसलाई बढाउँदै लाने बताए ।

“म ४० प्रतिशतमात्रै मेरो हो भनेर बस्दिन । त्यसो भयो भने त सधै ४० प्रतिशतको नेता हुन्छु । पार्टी सभापति बन्न मैले अरु समूहका साथीहरुको पनि साथ लिनुपर्छ । म सबैलाई समेटेर लैजान्छु”, उनले भने ।

सभापति बन्नका लागि कसैसँग अनैतिक सहकार्य नगर्ने बताउँदै उनले “कसैको फरिया समातेर सभापति नबन्ने” बताए ।

उनले पार्टीभित्र सुधार र विधान कार्यान्वयनका लागि आफूले आवाज उठाइरहेको बताए । रुपान्तरण अभियान आफ्नै पहलमा सुरु भएको भन्दै नेता कोइरालाले कांग्रेस कार्यकर्ताहरुलाई विचलन नहुन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट