विद्यालय पुग्न साढे दुई घण्टा पैदल !-Sutra News

विद्यालय पुग्न साढे दुई घण्टा पैदल !

शुक्रबार, १ असार २०८०

शुक्रबार, १ असार २०८०

बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभटीको हलहलेका अश्विन पुन बिहान साढे ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छन् । दुदिलाभाटीमा रहेको चौराहा माविमा कक्षा २ मा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन् ।



कक्षा ६ मा पढ्ने दाजु रोशन पुनसँगै उनी विद्यालय पुग्छन् । विद्यालय जाँदा ओरालो बाटो साढे दुई घण्टामा विद्यालय पुग्ने पुनका दाजुभाइ घर फर्किँदा भने तीन घण्टा समय लाग्छ ।

गाउँ नजिकै रहेको चौराहा आधारभूत विद्यालय चौराहा माविमा गाभिएपछि अश्विन साढे दुई घण्टाको यात्रा गरेर विद्यालय पुग्न बाध्य हुनुभएको हो । उनका दाजु रोशन भने कक्षा ३ सम्म चौराहा आधारभूतमा अध्ययन गरेर कक्षा ४ देखि चौराहा माविमा भर्ना भएका हुन् ।

चौराहा आधारभूत विद्यालयमा कक्षा ३ सम्म पठनपाठन हुँदै आएको थियो । गलकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका विद्यालय नजिकको विद्यालयमा गाभ्ने मापदण्ड बनाएपछि चौराहा माविमा गाभिएको हो । नगरपालिकाले ‘विद्यालय मर्ज तथा तह मिलान मापदण्ड–२०७९’ तयार गरेर कार्यान्वयनमा ल्याएको छ ।

दुई जनाको दरबन्दी रहेको विद्यालयबाट एक जनाको दरबन्दी गत वर्ष नै अन्य विद्यालयमा समायोजन गरिएको थियो । विद्यालयका प्रधानाध्यापकसमेत रहेका संस्थापक शिक्षक मनबहादुर विकलाई चौराहा माविमा हाजिर हुने गरी विद्यालय गाभिएको हो ।

“कक्षा १ देखि ३ सम्म चार र बालविकास उमेर समूहका पाँचजना विद्यार्थी थिए,” चौराहा आधारभूत विद्यालयका प्रधानाध्यापक विकले भने, “नगरको निर्देशन मान्नै पर्‍यो, विद्यालय समायोजन भएपछि हलहलेका बालबालिकालाई विद्यालय पुग्न कठिन भइरहेको छ ।” शिक्षासँग सम्बन्धित कानुनहरूले स–साना बालबालिकाका लागि बढीमा आधा घण्टाको दूरीमा विद्यालय हुनुपर्ने व्यवस्था गरेको छ । तर, भौगोलिक कठिनाइ, स्रोत साधानको अभावलगायतका कारणले बालबालिका घण्टौँ पैदल हिँड्न बाध्य छन् ।

विसं २०४७ मा स्थापना भएको विद्यालयले तत्कालीन समयमा ४५ जना विद्यार्थीलाई पठनपाठन गराएर सेवा दिँदै आएको थियो । बसाइँ सराइका कारण गाउँ नै रित्तिएपछि विद्यार्थी सङ्ख्या नपुगेर विद्यालय गाभिने अवस्था आएको विकले बताए ।

बालमैत्री घोषणा भएको नगरपालिकामा पढ्नकै लागि दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हुन दुर्भाग्य भएको गलकोटकै एक शिक्षकले बताए । गलकोट नगरपालिकाले केही हप्ता अघिमात्रै तामझामका साथ बालमैत्री नगर घोषणा गरेको थियो ।

गलकोट नगरपालिकाले कुनै स्थान विशेषभन्दा पनि समग्र नगरको अवस्था हेरेर विद्यालय गाभ्ने निर्णय गर्दा केही विद्यार्थीलाई असहज भएको जनाएको छ । “विद्यार्थी नै नभएको ठाउँमा सरकारले खर्चमात्रै गर्ने कुरा भएन, समस्या भएका बालबालिकालाई यातायात खर्च दिने गरी पत्राचार गरेर विद्यालय गाभिएको हो”, नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले भने, “यातायात खर्च दिँदासमेत समस्या हुने बालबालिकाका लागि आवासीय सुविधा दिने विषयमा समेत छलफल भइरहेको छ ।”

गलकोटले चालु शैक्षिक सत्र सुरुवात हुनुपूर्व चार विद्यालय गाभेको छ भने केही विद्यालयमा तह मिलान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट