१० स्थानीय तह रहेको खोटाङमा १५.०३ प्रतिशतले जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा यहाँका जनसङ्ख्या दुई लाख छ हजार ३१२ रहेकामा विसं २०७८ को जनगणना अनुसार एक लाख ७५ हजार २९८ रहेको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा महिलाको सङ्ख्या ८८ हजार ६६१ र पुरुषको सङ्ख्या ८६ हजार ६३७ देखाएको छ । विसं २०६८ मा ४२ हजार ६४७ घरपरिवार थियो भने दश वर्ष पछि गरिएको जनगणनामा घरपरिवार सङ्ख्या ४१ हजार ७५० रहेको पाइएको छ ।
जिल्लाका दशवटै स्थानीय तहमा जनसङ्ख्या वृद्धिदर घटेको छ । तथ्याङ्क कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना विसं २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना विसं २०६८ को तुलनामा जिल्लाका दशवटै स्थानीय तहको जनसङ्ख्या घटेको जानकारी दिइएको हो ।
नागरिकलाई गाउँमै रोजगार दिएर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावका कारण हरेक स्थानीय तहको जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालय उदयपुरका तथ्याङ्क अधिकृत शिवनारायण महतोले बताए ।
स्थानीय तहहरूले बसाइँ सराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । जिल्लामा सबैभन्दा बढी खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नहुँदा बसाइँ सराइ हुने गरेको उनको भनाइ थियो ।