‘बुलबुल’ सिनेमाबाट चोपेन्द्र पात्रका लागि चर्चा बटुलेका अभिनेता मुकुन भुषालको पछिल्लो रिलिज ‘झिंगेदाउ’ सबैलाई आश्चर्यमा पार्दै सुपरहिट बन्यो।
सिनेमा हिट बनेपछि उनले एकपछि अर्को सिनेमा पाइरहेका छन्। सिनेमाको संख्या बढेसंगै अब उनको प्रतिष्पर्धा आफैसँग सुरु हुन थालेको छ।
यो साता उनी अभिनित दुई सिनेमाको रिलिज मिति सार्वजनिक भएपछि यस्तो अवस्था आइपरेको हो।
उनी अभिनित ‘गणपति’ले भदौ १४ लाई रिलिजमिति तोकेकोमा उनको अर्को एक सिनेमाले पनि यही मितिमा रिलिज हुने निर्णय गरेको छ।
निर्मात्री कृषा चौलागाईंको निर्देशकीय डेब्यू सिनेमा ‘ऎंचो पैंचो’ शुक्रबार सिनेमा वितरक फाइनल गर्दै आफू पनि भदौ १४ मा आउने घोषणा गरेको हो।
अब एउटै कलाकारको सिनेमा जुँधेपछि सबैभन्दा ठूलो दुविधा प्रचारका समयमा हुने गर्छ। अब मुकुनले कुन सिनेमालाई ज्यादा प्रचारमा समय दिन्छन् त्यो भने हेर्न बाँकी छ।
योसँगै कुन सिनेमा व्यापारमा अघि रहला, त्यो पनि एउटा कौतुहल्ताको विषय बन्ने पक्का भएको छ।
‘ऎंचो पैंचो’मा मुकुनले स्वस्तिमा खड्कासँग जोडी बाँधेको बताइन्छ। यध्यपी यो सिनेमामा अर्का अभिनेता सुशिल सिटौला र अर्की अभिनेत्री वर्षा राउत पनि मुख्य भूमिकामा रहेकाले कसको जोडी को हो भन्ने कुरा सिनेमा रिलिज पछि स्पष्ट हुनेछ।
त्यस्तै ‘गणपति’मा मुकुनका साथमा मेनुका प्रधान, जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन्।
सविन अधिकारीको लेखन तथा निर्देशन बन्ने फिल्मको निर्माण लक्ष्मण रिजालले गरेका हुन्।