रिलिज हुनुअघि नै विवादमा परेको बलिउड चलचित्र ‘आदिपुरुष’ रिलिजपछि पनि थप विवादमा परेको छ ।
फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेडछाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दू सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ । यस याचिकामा हिन्दू सेनाले आदिपुरुष’ को सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरेको छ।
हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा जनहित याचिका दायर गरेको जानकारी दिए । उनका अनुसार ‘आदिपुरुष’ विरुद्ध दायर गरिएको रिट निवेदनमा भनिएको छ कि यो भारतीय संविधानको धारा २२६ अन्तर्गत जनहित याचिका हो । जस अनुसार धार्मिक नेता, पात्र र व्यक्तिलाई गलत देखाउन पाइने छैन् । त्यसैले सो फिल्मका आपत्तिजनक दृश्य तत्काल हटाउनु पर्नेछ र फिल्मलाई सार्वजनिक प्रदर्शनमा रोक लगाउनु पर्नेछ ।
निवेदनमा ‘आदिपुरुष’ लाई फिल्ममा धर्मगुरु, पात्र र व्यक्तित्वलाई गलत ढंगले प्रस्तुत गरी हिन्दू समुदायको भावनामा चोट पुर्याएको आरोप लगाइएको छ । महर्षि वाल्मीकि जस्ता लेखकले लेखेको रामायणमा हिन्दू धर्मका पात्रहरूलाई जसरी भनिएको छ, त्यसैगरी फिल्ममा नदेखाई गलत रुपमा व्याख्यासमेत गरी नयाँ-नयाँ अविश्वनLय दृश्य देखाइएको छ ।
रामलाई जीसस जस्तो देखाइएको, सुनको दरबारमा बस्ने रावणलाई अजिंगरको घेरामा बसेको देखाइएको मात्रै नभई राम, सीता, लक्ष्मण, रावणका संवाद पनि कतिपय ठाउँमा रयापरको जस्तो भएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।