रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
बौधिमाई नगरपालिका वडा–५ कोपवा टोलमा गएराति १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह तेलीको छोरा अरुण साह र भिखारी पंडितका छोरा सिताबी पंडितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
घरको मानिस पानी लिन जाँदा करेन्ट लागेपछि पंडितले बचाउन जाँदा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ ।