नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्न नहुने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने दबाब बढिरहेका बेला उनले त्यस्ता गतिविधिमा संलग्न कुनै पनि नेतालाई पार्टीले प्रतिरक्षा गर्न नहुने आफ्नो अडान राखेका हुन् ।
शनिबार काठमाडौंमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)जस्ता राजनीतिक पार्टीले आफ्नो पार्टीको अमुक नेताहरूलाई निर्दोष साबित गर्ने प्रयास गर्न नहुने बताए ।
महामन्त्री शर्माले राजनीतिक दलहरूले भ्रष्टाचारको आरोपमा परेका नेताहरूलाई प्रतिरक्षा नगरी स्वतन्त्र ढङ्गले सम्बन्धित निकायलाई छानबिन गर्न दिने भनेको मुलुकको सुशासनका लागि महत्त्वपूर्ण कदम हुने पनि स्मरण गराए ।