आइसीसी एकदिवसीय छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले आज घरेलु राष्ट्र जिम्बावेसँग खेल्दै छ ।
जिम्बावे र नेपालबीचको खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार अपरान्ह १२:४५ मा सुरु हुनेछ ।
घरेलु टोलीलाई हराउँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहनेछ भने घरेलु भूमिमा नेपाललाई हराएर जिम्बावे पनि सुखद सुरुवात गर्न चाहन्छ ।
जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्धको नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओडीआई खेल समेत हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट औपचारिक रुपमा एकदिवसीय क्रिकेटमा बलिया टेस्ट राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाल एक अर्को ‘एतिहासिक यात्रा’को ढोकाका रुपमा रहेको एकदिवसीय विश्वकप छनोटको यात्रा सुरु गर्दै गर्दा प्रतियोगितामा टेस्ट राष्ट्रपछि सर्वाधिक बढी नजर नेपालमाथि छ ।
विश्वकप छनोट पुग्नका लागि नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्दै अविश्वसनीय यात्रा तय गरेकाले पनि नेपालमाथि सबैको नजर स्वभाविक हो ।
आइसिसीले नेपाललाई टेस्ट राष्ट्रविरुद्ध ‘वार्मअप’ खेलमा समेत अभ्यासको मौका दिएन । जसले नेपाली समर्थकहरु रुष्ट बने तर प्रशिक्षक मोन्टी देशाई भने यसलाई अर्को अवसरका रुपमा प्रयोग गर्ने तयारीमा छन् ।
नेपालको खेल शैलीबारे अनविज्ञ रहेका टेस्ट राष्ट्रका लागि नेपाल ‘सरप्राइज’ प्याकेज बन्ने छ । यदि नेपाली ब्याटिङ लाइनअप पुरै ५० ओभर टिक्नसकेमा जुनसुकै देशलाई पराजित गर्ने तागत नेपालसँग भएको कप्तान रोहित पौडेलको दाबी छ ।
विश्वकप छनोटको सुपर सिक्समा प्रवेशको लक्ष्य लिएको नेपालको समूहमा दुईवटा टेस्ट राष्ट्र रहेका छन् । जिम्बावे र वेस्ट इन्डिज सँगै नेदरल्यान्ड्स र अमेरिका रहेको यो समूहमा नेपाल आफूलाई बलियो प्रमाणित गर्ने प्रयासमा रहेको छ ।
नेपालले आफ्नो ओडीआई इतिहासमा पहिलो पटक टेस्ट टोलीविरुद्ध प्रतिस्पर्धा गर्दैगर्दा नयाँ अवसरहरुको प्रतिक्षामा समेत हुनेछ ।
सन् २०१८ मा जिम्बाब्वेमै भएको आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा पपुवा न्युगिनीलाई हराउँदै ओडीआई मान्यता पाएको थियो । संयोग ६ वर्षपछि जिम्बाब्वेमै नेपाल घरेलु टोलीविरुद्ध खेल्दै टेस्ट राष्ट्रविरुद्ध एकदिवसीय पहिलो खेलको कीर्तिमान बनाउँदै छ ।
अहिलेसम्म नेपालले कुल ५१ ओडीआई खेल खेलेको छ । जसमा धेरैजसो खेलहरु विश्वकप क्रिकेट लिग-२ का दौरान रहेका थिए । नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक १४ खेल युएईसँग खेल्दा पपुवा न्युगिनीसँग १० एकदिवसीय खेल खेलेको छ ।
त्यस्तै, ओमानसँग ७ खेल खेल्दा नामिबिया, स्कटल्यान्ड र अमेरिकासँग समान ६-६ खेल खेलेको छ । त्यस्तै, नेदरल्यान्ड्ससँग २ खेल खेलेको नेपालको अब टेस्ट राष्ट्रविरुद्ध परीक्षा हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेल अमेरिकासँग मंगलबार (२० जुन) मा खेल्ने छ । त्यस्तै, बिहीबार (२२ जुन) वेस्टइन्डिजसँग खेल्दा समूह चरणको अन्तिम खेलमा नेदरल्यन्डसँग (२४ जुनमा) खेल्ने छ । यदि नेपाल समूहमा शीर्ष तीनमा पर्नसकेमा २९ जुनबाट सुपर सिक्सका खेलहरु हुनेछन्।