नेपाली सिनेकर्मीहरुले शुक्रबार प्रदर्शनमा आएको प्रभाषको ‘आदिपुरुष’ सिनेमालाई बहिष्कार गर्नुपर्ने माग गरेका छन्।
‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर दिएको झुटो र भ्रामक अभिव्यक्तिको विरोध गर्दै उनीहरुले यस्तो माग गरेका हुन्।
‘जुनबेलाको कहानी हो, त्यसबेला भारतको अंश हुने गथ्र्याे नेपाल । हामी सीतालाई भारतकी छोरी भनिरहेका छौँ भने भारतबाट नेपाल कहाँ अलग थियो र ? नेपाल त सन् १९०३ या ४ मा भारतबाट अलग भएको थियो’ उनले भनेका छन् –‘भारत नै थियो नेपाल । र, यो हिसाबले भारतकै छोरी थिइन् सीता । नेपाल त हाम्रो भाइ हो । हामी नै हौं । म नेपाललाई भारतभन्दा अलग मान्दै मान्दिनँ’, सिनेमाको संवाद तथा मेकिङलाई लिएर विवाद भएपछि आजतकलाई दिएको एक अन्तरवार्तामा उनले भने।
योसँगै उनले फिल्मको संवादको विषयमा नेपालले आफूसँग कुरा गरेको खण्डमा जानकी भारतकै छोरी हुन् भनेर सम्झाउन सक्ने दाबी समेत उनले सो अन्तरवर्तामा गरेका थिए। त्यसमाथि अझ आफ्नो अल्पज्ञान प्रस्तुत गर्दै राष्ट्रको रुपमा नेपाल र भारत अहिले पनि अलग नरहेकोसम्मको अभिव्यक्ति दिएका छन्।
उनको यस्तो बोलेपछि अभिनेता, लेखक तथा निर्मातासमेत रहेका दीपकराज गिरीले आफ्नो फेसबुक पेजमा, ‘लेखकले आधी ज्ञान लिएर आदिपुरुष बनाएछन् ! नेपाल १९०३ मा भारतसँग अलग भएको भन्ने उनको पछिल्लो अभिव्यक्ति झनै निन्दनीय छ’, लेखेका छन्।
यस्तै निर्देशक दीपेन्द्र के खनालले आफ्नो फेसबुकमा ‘लेखकले आधी ज्ञान लिएर आदिपुरुष बनाएछन् ! नेपाल १९०३ मा भारतसँग अलग भएको भन्ने उनको पछिल्लो अभिव्यक्ति झनै निन्दनीय छ’, लेखेका छन्।
अर्का निर्माता सन्तोष सेनले पनि मुन्तशिरको यो विवादास्पद अभिव्यक्ति प्रति खेद प्रकट गरेका छन्।
‘आदिपुरुष लेखकले १९०३ मा नेपाल भारतसँग अलग भएको मूर्ख अभिव्यक्ति दिएको मा खेद् छ’, उनले फेसबुकमा लेखेका छन्।
यसैगरी निर्देशक मनोज पंडितले मनोज मुन्तशिरलेको अभिव्यक्ति प्रति दिक्दारी व्यक्त गर्दै आफ्नो जस्तै उनको नाम पनि मनोज भएकोमा दिक्दारी प्रकट गरेका छन्।
उनीहरुका अलावा अन्य सिनेकर्मीले पनि मनोज मुन्तशिरको अभिव्यक्ति प्रति रोष प्रकाट गर्दै केहीले त तुरुन्त सिनेमाको प्रदर्शन रोकिनुपर्ने माग गरेका छन्।