परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासिय नेपाली संघ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन् । एनआरएनएको संस्थापन पक्ष र १०औं महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिलाई उनले आइतबार विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन् ।
परराष्ट्र मन्त्रालयमा आइतबार संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिए । ‘हाम्रो स्पष्ट सोच छ । पहिला तपाईंहरू विधानमा क्लियर हुनुपर्यो,’ साउदले भने, ‘विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनौट हुन्छ । कोही हार्छ कोही जित्छ । सबैभन्दा पहिले विधान क्लियर हुनुपर्छ ।’
उनले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा समेत जोड दिए । ‘हामीहरुको तपाईंहरूसँगको सम्बन्ध के हो, त्यो क्लियर हुनुपर्छ । तपाईंहरु र हाम्रो सम्बन्ध विवादग्रस्त हुनहुन्न,’ मन्त्री साउदले भने, ‘हामीले भोलि कुनै पनि निर्णय गर्दा तपाईंहरुको विधानबमोजिम हामीले त्यसमा एक्सन गर्ने हो ।’
उनले कुनै पनि संस्थालाई नियन्त्रणमा राख्ने प्रवृत्ति र संस्थामा नियन्त्रण नहुँदा समानान्तर रुपमा गतिविधि गर्ने प्रवृत्ति दुवै घातक भएको पनि एनआरएनएका प्रतिनिधिहरुलाई स्मरण गराए ।