बुबाले आत्महत्या र आमाले अर्कैसँग विवाह गरेपछि छोराछोरीको बिचल्ली-Sutra News

बुबाले आत्महत्या र आमाले अर्कैसँग विवाह गरेपछि छोराछोरीको बिचल्ली

सोमबार, ४ असार २०८०

सोमबार, ४ असार २०८०

केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा/गिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छिन् ।



आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत आत्महत्या गरेपछि विश्वकर्मा दाजु/बहिनी आशिष र अङ्कु बिचल्लीमा परेका छन् । बुबा र आमा दुवै नभएपछि अभिभावकविहीन बनेका आशिष र अङ्कुको लालनपालन तथा शिक्षादीक्षाको व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको छ ।

आमाले छाडेर अर्कैसँगै पोइल गएको केही समयपछि बुबा दीपेश विश्वकर्माले पनि २०७९ साल चैतमा आत्महत्या गरेको स्थानीयवासीले बताएका छन् । अङ्कु चन्द्रोदय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत रहेकी छन् भने आशिष सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्दागर्दै ट्र्याक्टर पछ्याउन थालेका हुन् ।

बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका ती बालबालिका नियमित विद्यालय आउन छाडेको विद्यालय प्रशासनले जनाएको छ । बुबा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ विश्वकर्माको घरमा आश्रय लिन पुगेका उनीहरू पुनः आफ्नै घरमा फर्किएको स्थानीय बासिन्दाले बताएका छन् ।

दीपेश वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेका समयमा श्रीमतीले दोस्रो विवाह गरेर हिँडेको जनाइएको छ ।

ज्यालादारीको कामसमेत गर्न नसक्ने आशिष र अङ्कु अहिले अरूले दिएको खाना तथा खाजाको भरमा दिन कटाउन बाध्य छन् । अरूको भरमा जीवन धान्दै आएका उनीहरू कतिपय समयमा भोकै रहनेको गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट