बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो ।
छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताले बताइन् ।
तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा छन् । तीनै जनाको जन्मदर्ता बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनको भनाइ छ ।
‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु । श्रीमान्लाई घरपरिवारले अन्यत्र भगाएका छन् । आफू भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ ।‘
सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आइरहेकी छन् ।
‘श्रीमान्ले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु । उनसँगै मिलेर काम गर्छु । सुख–दुःख पोख्ने गर्छु’, उनले भनिन्, ‘मेरो त यस्तै हो, छोराछोरीको चिन्ताले सताउँछ । विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान् र घरपरिवार राजी छैनन् । पाएको काम पनि गर्न सकिएको छैन।’
अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले भनाइ छ ।
‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकँे कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने ? भन्दै घर फर्किनुहुन्छ।’
सुनिताका आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाइन् ।
‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन’, उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ । यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ।’
सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताउँछिन्।
सुनिताको माइतमा कोही मर्दापर्दा पनि आउँदैनन् भन्दै आमा विष्णु पछ्यौराले मुख छोपेर भक्कानिन् ।
उनका अनुसार बोल्दा पनि होच्याएर बोल्ने । अपशब्द प्रयोग गरेर बोल्ने गरेको उनको भनाइ छ । सुनिताको दुःख देखेर नङ्गा परियारले सकेको सहयोग गर्दै आइरहेका छन् । दिदीको पनि सुनिताको भन्दा त कम पीडा छैन । तर पनि सुख–दुःख जे–जस्तो भए पनि बाँडीचुडी खाउँला भनेर उनहरूसँगै बस्दै आएका छन् ।
‘बहिनीको दुःख देखेर दया लागेर आउँछ, सुनिताको श्रीमान् खोज्न हरसम्भव प्रयास गर्दा पनि भेट्टाउन सकिरहेका छैनौँ’, नङ्गाले भनिन्, ‘ज्वाइँलाई लुकाउन घरपरिवारको ठूलो हात छ । तर पनि हामीलाई कानुनमाथि विश्वास छ, एक दिन त मेरी बहीनी र यसका बच्चाले पक्कै न्याय पाउनेछन्।’
बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन् ।
बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ । वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने जानकारी गराए ।
श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीले बताए ।