सरकारलाई समर्थन गरेका नौ दलीय गठबन्धनभित्र रहेका चार दलले ‘समाजवादी’ मोर्चा गठन गरेसँगै त्यसलाई काउन्टर दिंदै सत्ता गठबन्धनभित्रै अर्को मोर्चा बनाउने गृहकार्य चलिरहेको छ ।
अन्तिम समयमा सहभागी नगराएपछि बाबुराम भट्टराईले ‘समाजवादी’ मोर्चालाई काउन्टर दिँदै विभिन्न चार राजनीतिक दलसहितको मोर्चा बनाउने तयारी गरेका हुन् । समाजवादी मोर्चाका डिजाइनर रहेका भट्टराईलाई बाहिर राखेपछि उनी असन्तुष्ट छन् ।
भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र प्रभु शाह अध्यक्ष रहेको आम जनता पार्टीबीच नयाँ मोर्चा घोषणाको तयारीमा रहेका दलका नेताहरु छलफलमा जुटेका छन् । स्रोतका अनुसार ‘समाजवादी’
मोर्चालाई काउन्टर दिनकै लागि भट्टराईकै नेतृत्वमा पार्टीका नेताहरु छलफलमा जुटेका हुन् ।
सोमबार सत्तारुढ माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच समाजवादी मोर्चा घोषणा गरिएको छ ।
समाजवादी मोर्चाका सूत्रधार रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई नै आउट गरेर संविधान प्रदत्त समाजवाद स्थापना गर्ने भन्दै ‘समाजवादी’ मोर्चा गठन गरिएको छ ।
प्रतिनिधिसभामा कांग्रेसका ८८ (एक निलम्बन), एमालेका ७९ (दुई निलम्बन), माओवादीका ३२(नेसपाका २ सहित), राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राप्रपाका १४, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपा र नागरिक उन्मुक्तिका चार–चार, जनमोर्चा र नेमकिपा एक–एक, आम जनता पार्टीका एक र २ जना स्वतन्त्र सांसद छन् ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा ५२ सिटसहित समाजवादी मोर्चा संसद्को तेस्रो शक्ति बनेको छ । संसद्मा बलियो उपस्थिति देखिनकै लागि जनमतका ६, नागरिक उन्मुक्तिका चार, नेसपाका २, आम जनता पार्टीका १ र स्वतन्त्र सांसद २ जना गरी १५ सिटसहित नयाँ मोर्चाको तयारी गरेका हुन् ।
स्रोतका अनुसार नयाँ मोर्चा गठनका विषयमा नेताहरुबीच विभिन्न चरणमा अनौपचारिक वार्तासमेत भएका छन् । बाबुरामकै नेतृत्वमा नयाँ मोर्चा गठन गर्न अन्य तीन दल सकारात्मक रहेको बताइएको छ । मोर्चामा लोकतान्त्रीक समाजवादी पार्टीलाई पनि ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यसको गठनको बहस भएदेखि नै योजनाकार रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अन्तिचम समयमा सहभागी भएनन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो योजना अनुरुप बनेको समाजवादी मोर्चामा आफूलाई लत्याइएपछि सामाजिक सञ्जालमा व्यंग्यपरक टिप्पणी गरेका थिए ।
उनले सामाजिक सञ्जालमा कोइलीको आवाजसहितको भिडियो पोष्ट गर्दै लेखेका थिए, ‘गुँड लगाउने काग! फुल पार्ने र गाउने कोइली? प्रकृतिको कस्तो लीला !’