हिलेको समयमा सरकारी कार्यालयमा शौचालय, खानेपानी, प्रतीक्षालय छैन भन्दा अचम्म लाग्न सक्छ। तर लुम्बिनी प्रदेशमा एउटा यस्तो कार्यालय छ, जहाँ यी कुनै सुविधा छैनन् । न बस्ने व्यवस्था छ, न शौचालय । झन् खानेपानीको त प्रबन्ध छैन । उक्त सरकारी कार्यालयको नाम हो – इलाका प्रशासन कार्यालय, मझगाँवा रुपन्देही।
२०४६ सालमा स्थापित सो कार्यालय मर्चवार लिफ्ट सिँचाइ जलउपभोक्ता संस्थाको सानो ६ कोठे भवनमा सञ्चालित छ। जीर्ण भवन, एकतले ढलानसहितको उक्त कार्यालयमा तिर्खा लाग्दा पिउने पानी छैन र मलमूत्र विसर्जन गर्ने शौचालय पनि छैन ।
‘प्रचण्ड गर्मी र प्यासले सहिसक्नु छैन,’ सेवा लिन इलाका प्रशासन कार्यालय मर्चवार पुगेका सेवाग्रही चन्द्रिका मुरावले भनिन्, ‘भीड थेगिसक्नु छैन, पालो कहिले आउने हो त्यो पनि थाहा छैन । बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयले हप्कीदप्की गर्छन्।’
यस्तै अर्का सेवाग्राही सम्मरीमाइ–६ का अवधेश विश्वकर्मा प्रतीक्षालय, शौचालय र एउटा ह्यान्डपाइपसमेतको व्यवस्था नभएको यस कार्यालयमा सेवाग्राही मात्र होइन, कर्मचारीसमेतलाई सास्ती रहेको बताउछन् ।
यसबारे कार्यालयका नायब सुब्बा पप्पुप्रसाद यादवलाई सोध्दा उनले भने, ‘कार्यालय भवनसमेत जीर्ण भएको भन्दै सेवाग्राहीका लागि शौचालय, बस्ने, व्यवस्था र खानेपानीको उचित प्रबन्ध नभएको हो।’
नागरिकता वितरणसमेतको अधिकारप्राप्त इलाका प्रशासन कार्यालय मर्चवारमा दैनिक ७०–८० सेवाग्राही पुग्छन्। कार्यालयका अनुसार नयाँ नागरिकता र प्रतिलिपिदेखि समावेशी प्रमाणित र राष्ट्रिय परिचयपत्रका लागि समेत सेवाग्राहीको चाप रहन्छ। यद्यपि कर्मचारी र पूर्वाधारको भने अभाव छ।