करिब ६० वर्षअघिको ढाक्रे जीवनशैलीमा आधारित सिनेमा ‘ए ढाक्रे दाइ’ रिलिज हुने भएको छ।
निरञ्जन कसजू (माइला)को निर्देशित सिनेमा साउन ५ गते रिलिज हुनेछ।
कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले सिनेमामा आफूले ६ दशकअघिको ऐतिहासिक विषयमा सिनेमा निर्माण गरेको बताएका छन् ।
‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउँथे र जडीबुटी, घिउ, भटमासहरु बेचेर नून, तेल, लत्ता–कपडालगायतका अत्यावश्यक सामग्रीहरु किनेर लान्थे’, निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुःखकष्टको जीवन भोगाइलाई सिनेमामा प्रस्तुत गरेको छु ।’
उनले तत्कालीन ऐतिहासिक ग्रामीण जीवनलाई अहिलेको पुस्ताले पर्दामा भए पनि हेरुन् भनेर सिनेमा निर्माण गरेको बताए ।
सिनेमामा ध्रुव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतको अभिनय छ ।
सुमन थापा र विनोद चौधरीले खिचेको सिनेमामा सुरेश सेन्चुरीको संगीत, एनके एम र तेजप्रसाद पाण्डेको शब्द र लोकेन्द्र शाह र एनके एमको नृत्य निर्देशन छ ।
युनिक मुभिजको प्रस्तुतिमा राजन कसजू सहनिर्माता रहेको सिनेमाको सम्पादन विजय पोखरेल र विनोद चौधरीले गरेका हुन् ।
सिनेमाको वितरण आरआर फिल्म प्रोडक्शनले गर्दैछ ।