नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने र नयाँ सरकार बन्ने सक्ने बताएका छन् । नेकपा एमाले र नेपाली कांग्रेसबीच समीकरण निर्माण गरी नयाँ सरकार गठनको कसरत भइरहेको भन्ने खबरहरूका बीच महामन्त्री थापाले त्यही कसरतलाई बल पुग्ने गरी धारणा सार्वजनिक गरेका हुन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गठबन्धनले ठिक ढंगले काम नगरे र काम गराई चित्त बुझेन भने गठबन्धन फेरिने र नयाँ सरकार बन्ने बताएका हुन् । ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ/भत्किन्छ भइराख्छ त ।’
थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । सरकारले सदनमा पेश गरेको बजेटलाई लिएर सत्ताघटक दलहरूभित्र मतभेद देखिएको छ । संत्तामा रहेका दलका सांसदहरूले नै सरकारले बजेटमा आवश्यक संशोधनमा नगरे यथास्थितिमा बजेट पारित गर्न सहयोग नगर्ने चेतावनी दिँदै आएका छन् ।
महामन्त्री थापाले फरक प्रसंगमा समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भए पनि काँग्रेसलाई फरक नपर्ने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीले समस्या थपेको भन्दै यो आवश्यक नभएको भन्दै उक्त व्यवस्था संशोधन गर्नुपर्ने जोड दिए ।